नेपालगन्जमा मानवसेवा आश्रमको १९ औं जिल्ला शाखा सञ्चालन


नेपालगन्जमा मानवसेवा आश्रमको १९ औं जिल्ला शाखा सञ्चालन

नेपालगन्ज २५ असार : मानवसेवा आश्रमको १९ औं जिल्ला शाखा नेपालगन्जमा सञ्चालनमा आएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० स्थित ट्राफिक कार्यालय नजिक सुर्खेत रोडमा मानवसेवा आश्रमको १९ औं शाखा शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विष्टले मानवीय सेवामा सर्मपित भएर आश्रम सञ्चालनमा आउँदा उपमहानगरपालिकाले स्वागत गरेको बताए । आश्रम सञ्चालनका लागि उपमहानगरपालिका कार्यालयले आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, समाजसेवी मुकुट ढकाल, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान नगर प्रमुख डाक्टर धवलसम्शेर राणा, मानव सेवा आश्रम सुर्खेतका संयोजक अनिता ज्ञवाली, चितवनका ओमकार कँडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष एवम् संस्थापक रामजी अधिकारीले २०८२ साल बैशाख १ गतेसम्म नेपाललाई नै सडक मानवमुक्त देश घोषणा गर्ने अभियान स्वरुप जिल्ला जिल्लामा आश्रमको शाखा बिस्तार गर्ने काम गरिएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकालाई आगामी असोज महिनाभित्र सडक ‘मानवमुक्त’ शहर घोषणा गर्न सकिने बताए । उक्त आश्रमको भवन निर्माणका लागि नेपालगन्जका समाजसेवी एवम दाता जेके सिंहले १० कठ्ठा जग्गा प्रदान गरिसकेका छन् ।

उद्घाटन कार्यक्रममा जग्गादाता सिंहसहित आश्रम सञ्चालन गर्नमा र त्यहाँ बसिरहेका असहाय ब्यक्तिलाई खाना खुवाएर मानवीय सेवामा संलग्न विभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो । नेपालगन्जमा खोलिएको आश्रम हाल भाडामा सञ्चालन भइरहेको छ ।

आश्रमकी सदस्य सृजना ओलीका अनुसार हाल २३ जना असहाय बसिरहेका छन् । जसमध्ये एक जना बच्चासहित ३ जना महिला र २० जना पुरुष छन् ।