सावधानी अपनाउन आग्रह
बाँकेको कुसुम स्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा राप्ती नदीले खतराको तह पार गरेको दृष्य । तस्विर: सेतोखरी
नेपालगन्ज २५ असार : बाँकेको राप्ती नदीले खतराको तह पार गरेकोछ । वर्षाका कारण नदीमा जल सतह बढेपछि राप्ती नदीले खतराको तह पार गरेको हो । राप्ती नदीले आज खतराको तह पार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
शनिबार दिउँसोको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर भन्दा माथी पुगेको छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि तल्लो तटिय स्थान डुब्ने खतरा हुन्छ ।
बाँकेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा मापन गरिएको जल सतह निरन्तर बढ्दो क्रममा रहेको छ । केन्द्रले डुबान हुन सक्ने भन्दै राप्ती नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहदै सुरक्षित हुन सबैलाई आग्रह गरेको छ ।
राप्ती नदीमा पानीको सतह निरन्तर बढिरहेकोले नदीमा माछा मार्ने, दाउरा निकाल्ने जस्ता कार्य समेत नगर्न आग्रह गरिएकोछ ।
राप्ती नदीले खतराको सतह पारे गरेसंगै डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानको उच्च जोखिममा पर्ने गरेकाछन् ।
यता बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाउँदै एसएमएसमार्फत नदी बहाव अझै बढिरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानका साथै गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।
नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।
उनीहरुका अनुसार शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आईतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।