नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन

युनियन केन्द्रिय सदस्य जयसिंह भन्छन्ः पत्रकारको पेशागत सुरक्षाको निम्ती उपमहासचिवमा लड्छु

युनियनको नेतृत्वका लागि यी हुन् आकांक्षी


युनियन केन्द्रिय सदस्य जयसिंह भन्छन्ः पत्रकारको पेशागत सुरक्षाको निम्ती उपमहासचिवमा लड्छु

नेपालगन्ज २७ असार : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ । पोखरामा २०७१ भदौमा ८ औं महाधिवेशन गरेको प्रेस युनियनले करिब ८ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो ।

युनियनको महाधिवेशन आउन करिब–करिब १० दिन बाँकी रहदाँ विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेक्रम बढ्दोछ । महाधिवेशन लक्षित युनियनका पार्षदहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेकाछन् ।

यसैक्रममा हाल नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रहेका जयसिंह केसीले उप–महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव समेत हुन् ।

पत्रकारितासँगैं सामाजिक क्षेत्रमा सक्रिय केसीले बाँकेमा रहेर पत्रकारिता गरिरहेका छन् । उनले श्रमजीवि पत्रकारको पारिश्रमिक, पत्रकारको बीमा र युनियनको संस्थागत विकासमा योगदान गर्दै आएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड–१९ महामारीको समयमा उनले प्रेस युनियन बाँके लगायत देशका विभिन्न जिल्लामा आफै पुगी पत्रकारहरुलाई स्वास्थ्य सामाग्री, खाद्यान्न र उपचारमा सहयोगमा गरेका थिए ।

प्रेस युनियन बाँकेले कोभिडको समयमा अप्ठयारोमा परेका पत्रकारलाई स्वास्थ्य सामाग्रीसँगै आर्थिक सहयोग गरेको थियो । सोक्रममा युनियन उपमहासचिवमा उम्मेदवारी दिने घोषण गरेका केसीले पनि व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

नेपाल प्रेस युनियनलाई संस्थागत रुपमा बलियो बनाउँदैं श्रमजिवी पत्रकारको हक, हित र पेशागत सुरक्षा दिलाउनको लागि आफुले उप–महासचिव पदमा उम्मेदवारी दिन लागेको उनी बताउँछन् ।

उनले भने,‘प्रेस युनियनमा मैले विगत डेढ दशकदेखी जिल्ला हुँदै केन्द्रसम्म विभिन्न पदमा बसेर काम गरेको छु । युनियनको संस्थागत विकास गर्दै यसको गरिमालाई अझ उच्च राख्ने उद्देश्य सहित मैले उम्मेदवारी दिन लागेको हुँ । यसमा देशभरका पत्रकार साथीहरुको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’

नेपाली पत्रकारिताले अझै थुप्रै चुनौतीको सामना गर्दै आएको बताउँदै केसीले पत्रकारको हकहित र पेशागत रुपमा बलियो बनाउनका लागि युनियनले योजनावद्ध रुपमा काम गर्नु पर्ने बताउँछन् ।

बाँकेबाट को-को उम्मेदवार ?

नेपालगन्जमा लामो समय पत्रकारिता गरि पछिल्लो समय काठमाण्डौंमा रही रेडियो नेपालमा रहेर पत्रकारिता गरिरहेका सन्तोष रेग्मीले समेत उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनले उपमहासचिवमा आफ्नो उम्मेदवारी घोषणासंगै प्रचारप्रसार थालिसकेकाछन् ।

यस्तै, नेपालगन्जमा लामोसमय पत्रकारिता गरि हाल काठमाण्डौं रहेर नेपाल टेलिभिजनमा पत्रकारिता गरिरहेकी कमला हमालले युनियनको केन्द्रिय महिला सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
नेपालगन्जमा रहेर लामोसमयदेखि पत्रकारिता गरिरहेकी शोभा केसीले पनि केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकीछन् ।

यता नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले समेत युनियन महाधिवेशनमा उम्मेदवारी दिनसक्ने बताइएकोछ । यद्यपी उनले यस विषयमा केही बताएका छैनन् । उनी अहिले मातृशोकमा छन् ।

यस्तै युनियनको महाधिवेशनमा बाँकेबाट अरुले पनि उम्मेदवारी दिने खबर आएपनि यसको अझैं टुंगो लागेको छैन ।

पदाधिकारीमा क–कसको दावी ?

यसैबीच, युनियनको महाधिवेशन नजिकिदै गर्दा हालसम्म युनियनको नयाँ नेतृत्वका लागि आधा दर्जन दाबेदार देखिएका छन् । संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्व उपाध्यक्ष अनिता विन्दु अध्यक्षका सशक्त दाबेदारका रुपमा अगाडि आएका छन् ।

यस्तै संस्थापन इतरबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र केन्द्रिय सल्लाहकार तथा पूर्व महासचिव शिव लम्सालले तयारी तीव्र पारेका छन् । यस्तै प्रेस युनियनका नेता रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकाछन् ।

प्रेस युनियनका पूर्व सचिव सन्तोष न्यौपाने, भुवन भट्ट, प्रेस युनियनका पुराना नेता दामोदर दवाडी र उमिद वाकचनले पनि अध्यक्षमा आकांक्षा देखाएको पाइन्छ । यद्यपि उनीहरुले अहिलेसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् । वरिष्ठ उपाध्यक्षमा लीला खनाल, नीरज खतिवडा लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै युनियनको उपाध्यक्षमा जनार्दन घिमिरे, सलोजा दाहाल, ऋषिकान्त पौडेल, दीलिपाश्री अधिकारी, कल्पना शर्मा लगायत दाबेदारका रुपमा अगाडि आएका छन् । यति मात्र होइन उनीहरुले आ–आफ्नो प्रचारप्रसार समेत गर्न थालेकाछन् ।

यस्तै युनियनको महासचिवमा पनि मुख्य आकर्षण देखिएको छ । महासचिवमा कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्की, केन्द्रिय सदस्यहरु दीलिप पौडेल र रमेश वाग्ले, शिवराज योगीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै काठमाडौंका पूर्व अध्यक्ष नकुल अर्याल, कञ्चनपुरका पूर्व सचिव केशव साउद, विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसार थालेका छन् ।

उपमहासचिवमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक (सेन्चुरी)लगायतको दाबेदारी छ । यस्तै कोषाध्यक्षमा पदम जोशी, माधव धिताल, मित्र भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवमा खगेन्द्र भण्डारी, विजय रेग्मी, कालिका महत, तीर्थ बस्नेत, मेनुका ढुंगाना, राधा खनाल, एलपी देवकोटा, टिकाराम सुनार लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशन आउन १० दिन बाँकी हुँदा युनियनकर्मीबीच उम्मेदवारी घोषणाको लहर चलेको छ । ३–३ वर्षमा महाधिवेशन हुनुपर्नेमा ८ वर्षपछि हुन लाग्दा नेतृत्वमा प्रेस युनियनमा देखिएको जामले उम्मेदवार बढ्ने संकेत देखाएको छ ।