भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै


भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

नेपालगन्जको न्यूरोडमा हालै स्थापना गरिएको आदीकवि भानुभक्त आर्चायको अर्धकदको शालिक । तस्विर: सेतोखरी

नेपालगन्ज २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ठूलो गुन लगाएका भानुभक्तको जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइन लागिएको हो ।

भानुभक्त आचार्यले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।

भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । यस उपलक्ष्यमा बुधबार बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । आदिकवि आचार्यले ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए – ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् ।