खजुरामा विश्वविद्यालयका लागि कार्यालय भवन खोजि गर्दै जनप्रतिनिधिसहितको टोली । तस्विर सौजन्य खगेन्द्र दाहाल
नेपालगन्ज ३२ असार : बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि तिव्र तयारी थालिएकोछ ।
खजुरा गाउँपालिका–८ रनियापुरमा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ । यसका लागि विश्वविद्यालय निर्माणास्थल खजुरा गाउँपालिकाको रनियापुरमा रहेको जग्गाको हालै स्थलगत अनुगमन समेत गरिएकोछ ।
प्रदेश योजना आयोगको टोलीले विश्वविद्यालय स्थापनाका लागि छुट्याइएको रनियापुर जग्गाको स्थलगत अनुगमन गरेको हो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि तत्काल पुरानो भवनमा केन्द्रिय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको बताए ।
विश्वविद्यालय स्थापनाका लागि पहिलो चरणमा भवनको खोजी गरिएको हो । तत्काललाई जनक शिक्षा सामग्री केन्द्रको भवनलाई केन्द्रिय कार्यालय भवनका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जनक शिक्षा सामग्री केन्द्रको प्रस्तावित विश्वविद्यालय नजिक हुनुका साथै प्रयोगविहीन भएकाले पनि कार्यालय सञ्चालनका लागि उपयुक्त भएको धारणा राखे ।
‘अब केन्द्रिय कार्यालयको खोजी भएपछि प्रदेश विश्वविद्यालय खजुरामै निर्माण हुने सुनिश्चित भएको छ,’ गाउँपालिकाका अध्यक्ष विकले भने,‘केन्द्रिय कार्यालय सञ्चालनमा आएपछि भवन निर्माण कार्य पनि तत्कालै अघि बढ्नेछ ।’
जनक शिक्षा सामग्री केन्द्रले पश्चिम नेपालमा छिटो छरितो पाठ्यपुस्तक पु–याउनका लागि छापाखाना सञ्चालनमा ल्याउने भन्दै केही वर्षअघि भवन निर्माण गरेको थियो ।
लुम्बिनीको ब्राण्ड कायम गर्न विश्वविद्यालय स्थापना गरी अनुसन्धात्मक शिक्षा प्रदान र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्नेको लागि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा यसै आव २०७९र८० मा प्रदेश विश्व बिद्यालयको काम थाल्ने घोषणा गरिएको छ ।