नेपालगन्ज १ साउन : बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले एक कार्यक्रमकाबीच शनिबार बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१ औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औं नम्बरमा पर्दछ ।
साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले अझैं ३.४४ प्रतिशत साक्षर हुन बाँकी जनसंख्यालाई पनि साक्षर बनाउने अभियानमा लाग्न आग्रह गरे ।
बाँकेका ८ वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो ।
त्यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए । बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरीएको थियो ।