आज साउनको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड

यो वर्ष साउनमा ५ वटा सोमबार, पहिलोपटक व्रत लिनेहरुका लागि उचित हुने


आज साउनको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड

नेपालगन्ज २ साउन : साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो ।

काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ । भने यता नेपालगन्जस्थित जुङ्गेश्वर महादेवको पूजापाठ गर्न भक्तजनहरुको घुइँचो लागेकोछ ।

साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।

यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् । पहिलोपटक व्रत लिनेहरुले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ । हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ ।

Kanti Aarogya Hospital Nepalgunj

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आजबाट शुरु भएको छ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।

थप समाचार

भगवान शिवको प्रिय महिना साउन