नेपालगन्जका सडक फेरि झिलिमिली हुने, सोलार बत्ती मर्मत गर्न थालियो


नेपालगन्जका सडक फेरि झिलिमिली हुने, सोलार बत्ती मर्मत गर्न थालियो

नेपालगन्ज २ साउनः नेपालगन्जका सडकमा राखिएका अधिकांश सोलर बत्तीहरू बल्दैनन् । बलेका बत्ती पनि धमिला देखिन्छन् । त्यसको कारण हो– नियमित मर्मतसम्भार नगरिनु ।

मर्मतसम्भार नगर्दा सोलार प्यानल धुलोले छोपिएकोछ । भने सोलार प्यानल र ब्याकप ब्याट्रि बिग्रीएकाछन् । जसले गर्दा शौर्य शक्ति सञ्चित गर्न नसकेर सडकका सोलार बत्ती बल्न छाडेका हुन् ।

त्यसो त नेपालगन्जका सडकमा राखिएका सोलार बत्ती गत चैत्रदेखि नै बल्न छाडेका हुन् । तर, गत बैशाख अन्तिम सातादेखि अधिकांश सोलार बत्ती बल्नै छाडेका थिए ।

सोलार बत्ती जडान गरिएका पोलमा विज्ञापन राखेर लाखौ आम्दानी गर्ने नेपालगन्ज उपमहानगर र निजी कम्पनीले समयमै त्यसको मर्मतसम्भारमा ध्यान नदिदाँ उपमहानगरपालिकाको ‘उज्यालो नेपालगन्ज’ अभियानलाई गिज्याइरहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

विगत लामो समयदेखी बल्न छाडेका नेपालगन्जका सोलार बत्ती अब फेरि बल्नेछन् र नेपालगन्ज पुनः झिलिमिली हुने भएकोछ ।

नेपालगन्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य अघि बढेसंगै पुनः नेपालगन्ज उज्यालोमय बन्ने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम सुरु गरिएको छ । विष्टले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई उज्यालो सहर र हरियाली नगर बनाउने संकल्प गरेका छन् ।

‘सडकमा जडान भएका बत्ती मर्मत गरेर शहरलाई उज्यालो बनाउने उपमहानगरपालिकाको योजना छ, यसका लागि मर्मतको काम सुरु भइसकेको छ,’ उनले भने ।

नेपालगन्जमा पाँच वर्षअघि पाइलट प्रोजेक्टका रूपमा सोलार बत्ती जडान गरिएको थियो । त्यसपछि नेपालगन्ज–कोहलपुर सडकखण्डमा सोलार बत्ती जडानको संख्या बढ्यो ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र पुष्पलाल चोकसम्म ७० वटा र तत्कालिन संसद विकास कोष, जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयदेखि जमुनाहासम्म १५० वटा पोलमा सोलार बत्ती जडान गरिएका छन् ।

पछिल्लो पटक नेपालगन्जको वीपि चोकमा हाइमास्ट लाईट जडान गरिएपछि यतिबेला नेपालगन्जका मुख्य चोक–चोकमा हाइमास्ट लाईट जडान गरिएकाछन् ।

सडक तथा मुख्य नाका (चोक) उज्यालो बनाउने उद्देश्यका साथ जडान गरिएका हाइमास्ट लाईट र सोलार बत्तीको नियमित मर्मत र हेरचाह नगरिदाँ अध्याँरोमै सर्वसाधरण आउजाउ गर्नेगर्दछन् ।

यसरी जडान गरिएका हाईमास्ट लाईट र सोलार बत्ती ठेकेदार कम्पनी र नेपालगन्ज उपमहानगरपालिकाबीच मर्मत कसले गर्ने भन्नेमा पटकपटक हुने अन्यौलताले हाइमास्ट लाईत र सोलार बत्ती विग्रिएपछि मर्मत गर्नेतर्फ खासै तदारुक्ता देखाइदैन ।