एनपीयु महाधिवेशन : बाँकेका प्रेमसहित तीन जना निर्वाचित


एनपीयु महाधिवेशन : बाँकेका प्रेमसहित तीन जना निर्वाचित

नेपालगन्ज ९ साउन : नेपाल प्रेस युनियनको नयाँ कार्यसमितिमा बाँकेका तीन जना निर्वाचित भएका छन् । मकवानपुरको हेटौंडामा आईतबार सम्पन्न ९ औं महाधिवेशनबाट बाँकेका प्रेम केसीसहित तीन जना निर्वाचित भएका हुन् ।

नेपाल प्रेस युनियनका निर्वतमान उपमहासचिव समेत रहेका केसी बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै बाँकेकै कमला हमाल र शोभा केसी निर्वाचित भएकाछन् । नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा हमाल र शोभा निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्ष केसी र केन्द्रिय सदस्य शोभा अध्यक्षमा निर्वाचित शिव लम्साल प्यानल र हमाल अध्यक्षमा पराजित अनिता विन्दुको प्यानलबाट निर्वाचन लडेका थिए । शोभा र कमला पहिलोपटक केन्द्रिय कार्यसमितिमा पुगेका छन् ।
बरिष्ठ उपाध्यक्ष केसीले सरोज अधिकारीलाई पराजित गरेका हुन् । शोभा र कमला महिलातर्फ केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । ६ जना निर्वाचित हुने महिलातर्फको केन्द्रिय सदस्यमा उनीहरु निर्वाचित हुन सफल भएका हुन् ।

यस्तै बाँकेका सन्तोष रेग्मी, कुन्तलराज शर्मा र टेकेन्द्र बस्याल पराजित भएकाछन् । बाँकेका रेग्मीले उपमहासचिवमा, कुन्तलराजले केन्द्रिय सदस्य तथा टेकेन्द्रले लेखा समिति सदस्यमा उम्मेदवारी दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनबाट संस्थापन ईतर समुहका उम्मेदवार शिव लम्साल अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष (खुल्ला) मा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । उपाध्यक्ष (महिला)मा सलोजा दाहाल निर्वाचित भइन ।

उपाध्यक्ष समावेशीमा दिपेन्द्र वान्तवा, प्रदेश १ बाट उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेस प्रदेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकी प्रदेशबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र उपत्यकाबाट जीवन भण्डारी निर्वाचित भएका छन् । महासचिवमा दीलिप पौडेल निर्वाचित भएका छन् ।

यसैगरी उप–महासचिवमा कमल पन्त, युवराज गौतम र रविन्द्र सुवेदी निर्वाचित भएका छन् । उप–महासचिव महिलामा सुलोचना गौतम र दीलिपाश्री अधिकारी निर्वाचित भए । उप–महासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् ।

सचिवमा भुवन शर्मा, विजय रेग्मी, मेनुका ढुंगाना, कोषाध्यक्षमा माधव धिताल र लेखा समिति सदस्यमा पदमराज जोशी निर्वाचित भएका छन् । केन्द्रिय सदस्यमा कमला हमाल, शोभा केसी, ज्योती कटुवाल, चाँदनी कठायत, पुष्पराज जोशी लगायत निर्वाचित भएका छन् ।

गत शुक्रबार बागमती प्रदेशको हेटौंडामा भएको प्रेस युनियनको ९ औं महाधिवेशनको नेपाली काँग्रेसका सभपति एवम प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।