नेपालगन्ज १४ साउन : नेपाली काँग्रेस बाँकेले काँग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसंग परामर्श तथा समन्वयात्मक कार्यक्रम गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा निर्वाचित जनप्रतिनिधिसंग परामर्श तथा समन्वयात्मक कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बोल्ने काँग्रेस नेताहरूले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक बनेर काम गर्न निर्देशन दिएका छन् ।
निर्वाचित जनप्रतिनिधिको भूमिकाबाटै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारले हार्ने वा जित्ने आधार तय हुने भएकाले जनअपेक्षित कार्य गर्न उनीहरुको निर्देशन थियो ।
जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्यबाटै जनताका आवश्यकता पूरा गर्न सकिने भन्दै उनीहरुले पार्टीसंग सहकार्य र समन्वय गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
सोक्रममा जनप्रतिनिधिहरुले आफूहरुले पार्टीको निर्णय तथा सिद्धान्त अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पार्टीसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सहमहामन्त्री खगराज पाण्डे, प्रदेश सांसद शंकर गिरी, पूर्व सांसद कैलाशनाथ कशौधन गुप्ता, पूर्व पार्टी सभापतिहरु किरण कोइराला र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी र रमेश गुप्ता, नेपाल तरुण दलका पूर्व महामन्त्री हुर्मत न्यौपाने, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेती लगायतले बोलेका थिए ।
यस्तै जनप्रतिनिधिकोतर्फबाट जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकामा नगरप्रमुख पूर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल लगायततले आफ्ना धारणा राखेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।
पार्टी उपसभापति गोपालप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए ।
कार्यक्रममा डिएलएका केन्द्रिय सदस्य अधिवक्ता लोकबहादुर शाहले जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्य तथा स्थानीय सरकार, स्थानीय सरकार सञ्चालन ऐन, सुशासन, कानूनी तथा नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । सोक्रममा कार्यक्रममा उपस्थित सबै वडा सभापतिहरुलाई पार्टीको विधान, नियमावली, लेटरप्याड वितरण गरिएको थियो ।