कमेडी हबमा भगवना शिवको अपमान, गायक श्रेष्ठद्वारा बन्द गर्न माग


कमेडी हबमा भगवना शिवको अपमान, गायक श्रेष्ठद्वारा बन्द गर्न माग

नेपालगन्ज १६ साउन : कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक भएपछि यतिबेला सर्वत्र विरोध भइरहेकोछ ।

भगवान शिवको प्यारो महिना साउनमै भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत गरि सार्वजनिक उक्त भिडियो क्लिपले धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै बन्द गर्न माग गरिएकोछ ।

गायक संजय श्रेष्ठले कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै श्रृङ्खला बन्द गर्न माग गरेका हुन् ।

कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक गरेपछि गायक श्रेष्ठ आक्रोशित बनेका हुन् ।

‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान शिवलाई मजाकको पात्र बनाइएको कमेडीको श्रृङ्खला प्रशारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस्’ संजयले सामाजिक संजालमा अगाडि लेखेका छन् ‘अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौँ । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो ।’

सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गर्नुपर्ने र गल्ती गर्नेहरुलाई सजाय दिनु पर्ने श्रेष्ठको धारणा रहेको छ ।

श्रेष्ठले सामाजिक संजालमा शिवमाथि मजाक गरिएको भिडियो पनि शेयर गर्दै हिन्दु धर्मको अपमानको बिरोध गर्दै कारवाहीको माग गर्न सबैमा अपीलसमेत गरेका छन् ।

‘हामी हिन्दु धर्म मान्ने करोडौं नेपालीहरुको आस्था भगवान शिवलाई मजाकको पात्र बनाएर ‘कमेडी हब’ नाममा उच्छृङ्खलता पस्किने यस्तो नाजायज हिम्मत कसरी गरिन्छ र गरिएको छ ? हिम्मत छ कुनै अरु धर्म र उनीहरुको देव देवीहरूलाई यसरी मजाकको पात्र बनाउने ?’ श्रेष्ठले थपेका छन्, ‘९० प्रतिशत हिन्दु भएको यो देशमा यसरी भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत गर्दा पनि खै कहाँ छन शिव सेना र विश्व हिन्दु परिषद् ?’

श्रेष्ठले कार्यक्रमसँग सम्बन्धित सबैले समस्तलाई हाम्रो इष्ट देवको अपमान गरेको अभियोगमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने र श्रृङ्खला पनि हटाउनु पर्ने मागसमेत गरेका छन् । उनले यस बिषयमा शिव सेनालगायत विश्व हिन्दु परिषद्को ध्यानाकर्षण समेत गराएका छन् ।