बुटवल २० साउन : नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले बिहीबार बुटवलमा एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गरेकीछन् ।
सोक्रममा उनले सूचना व्यवस्थापनल प्रणालीले यस प्रदेशको तथ्याङ्क व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताइन् । उनले यस खालको तथ्याङ्क व्यवस्थापनले प्रदेशस्तरबाट बिद्यमान समस्याको पहिचान समेत हुने धारणा राखिन् ।
मन्त्रीले घर्तीले तथ्याङ्ककै आधारमा कार्यक्रम सञ्चालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसँग समन्वय सहकार्य गर्न सजिलो हुने बताइन् ।
अन्य प्रदेशमा पनि यही प्रकारको व्यवस्थापन प्रणाली शुरु हुने आशा गरेको बताउँदै रमाले भनिन्–‘सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द्रिय तहको सरकारले बालबालिका, अपांगता, जेष्ठ नागरिको क्षेत्रमा काम गर्नेछ ।’ मन्त्री घर्तीले भनिन्,–‘धेरै वर्ष पहिले नै तथ्याङ्क व्यवस्थापन गर्ने कार्य गर्नुपर्नेमा अलिकति ढिला भएको आफुलाई लागेको छ । यद्यपी सबैको सहकार्यमा यो कार्यलाई दु्रत गतिमा सञ्चालन हुने छ ।’
पछिल्लो समय मानव बेचबिखनका प्रकारहरु फरक भएको आफुले पाएको मन्त्री घर्तीले बताइन । महिला, बालबालिका मात्रै नभएर पुरुषहरु पनि अफ्रिकी मुलकमा बेचिने गरेको कुराहरु सुन्नमा आएको उनले बताइन् ।
बेचबिखन भएर उद्धार भइसकेका महिला, बालकालिकाहरुको संरक्षणका लागि केन्द्र सरकारले बनाएको दुई वटा पुर्नस्थापना केन्द्र र केही स्थापना केन्द्रहरुलाई केही सहयोग पुगोस् भन्नका लागि प्रदेश सरकारले एडीबीको सहयोगमा दीर्घकालिन पुर्नस्थापना केन्द्र स्थापना गरिन लागेको जानकारी गराइन् ।
सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दे प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव राजेन्द्र थापाले यो प्रणालीले प्रदेश सरकारमार्फत सञ्चालन हुने लक्षित वर्ग तथा समुदाय हितका कार्यमा सहयोग पुर्याउने बताए ।
कार्यक्रममा प्रदेशका डिआईजी नवल प्रसाद उपाध्यायले बढ्दो बिकास क्रमले गर्दा नेपाली प्रहरीमाथि पनि चुनौती थपिँदै गएको बताए । उनले नेपाल प्रहरीले नेपालमा माइती नेपाल लगायतको संघ संस्थाको समन्वय सहकार्यमा मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रणमा लिने गरिएको बताए ।
नेपाल सरकारकाको समन्वयमा युएसएड र युके एडको सहयोगमा विनरक इन्टरनेशनलमार्फत माइती नेपालद्वारा सञ्चालित हाम्रो सम्मान परियोजनाको प्राविबिधक सहयोगमा यस प्रकारको सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।
छरिएका तथ्याङ्कहरुलाई एकीकृत गरी स्थानीय तहदेखि केन्द्रतहसम्म तथ्याङ्कको बहाव कायम गरी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउन यो प्रणालीले कार्य गर्ने मन्त्रालयले जनाएको छ ।
माइती नेपालका कार्यकारी निर्देशक बिश्वराम खड्काले यसखालको प्रणालीले समुदायमा रहेको समस्याको अवस्था र त्यसका लागि गर्नुपर्ने कार्यका लागि सहयोग पुर्याउने धारणा राखे । कार्यक्रममा प्रदेशस्तरका मन्त्रालयका प्रतिनिधि तथा बाँके, बर्दिया, रुपेन्देही र कपिलबस्तुका बिभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।