वरिष्ठ उपाध्यक्ष केसीलाई प्रेस युनियन बाँकेको सम्मान


वरिष्ठ उपाध्यक्ष केसीलाई प्रेस युनियन बाँकेको सम्मान

नेपालगन्ज २२ साउन : नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई नेपालगन्जमा शनिबार एक कार्यक्रमकाबीच बधाई तथा सम्मान गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

युनियनको हालै सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट बाँकेबाट प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी तथा केन्द्रिय सदस्यमा कमला हमाल र शोभा केसी निर्वाचित भएका थिए ।

शनिबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले खादा, गम्छा र मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन् । जिल्ला बाहिर रहेका कारण कमला र शोभा भने बधाई तथा सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन् ।

युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, काँग्रेसका महासमिति सदस्य एवम् नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष मेघराज ओली, नेपाल प्रेस युनियनका पुर्वकेन्द्रिय सदस्य एवम पुर्वउपमेयर उमा थापामगर, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केसीले प्रेस युनियनको लुम्बिनी प्रदेशको चुनावमा पनि बाँकेले प्रमुख पद पाउने बताए । उनले बाँकेमा रहेका सबै प्रेस युनियनका सदस्य एकजुट भए बाँकेले प्रदेश अध्यक्ष तथा सचिव पाउने बताएका हुन् ।

बरिष्ठ उपाध्यक्ष केसीले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै युनियन र युनियन सम्बद्ध पत्रकारहरुको श्रीबृद्धिका लागि आफू डटेर लाग्ने प्रतिबद्धता जनाए ।

युनियन बाँकेका अध्यक्ष ओलीले बाँके जिल्लाले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित दुई जना सदस्य पाएकोमा सबै खुसी भएको बताए । केही उम्मेदवार विजयी हुन नसकेपनि सम्मानजनक मत प्राप्त गरेको उनले बताए ।

कार्यक्रममा शुभकामना दिने वक्ताहरुले बाँकेले पहिलोपटक बरिष्ठ उपाध्यक्ष पाएकोमा गौरबबोध भएको बताए । उनीहरुले युनियनलाई गतिशील बनाउँदै पेशागत हकहित संरक्षणका खातिर काम गर्न सफल हुने विश्वास व्यक्त गरे ।

यस्तै उनीहरुले नेपाली काँग्रेसका उम्मेदवारले जितेका स्थानीय तहमा प्रेस युनियका सदस्यबाहेकका पत्रकारलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका थिए ।

उनीहरुले पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गर्ने प्रेस युनियनका सदस्यलाई बेवास्था गरे संघ र प्रदेशको चुनावमा नेपाली काँग्रेसले कम सिट ल्याउन सक्नेसमेत बताए । उक्त कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।