साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण
नेपालगन्ज २३ साउन : आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि नेपाली काँग्रेसले चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।
देशका ७७ वटै जिल्लामा केन्द्रिय तहका नेताहरु खटाएर चुनावी अभियान सञ्चालन गर्न लागिएको हो ।
काँग्रेस महामन्त्री गगन थापाका अनुसार केन्द्रिय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गर्दै ७७ वटै जिल्लामा केन्द्रिय सदस्य(नेता) हरुलाई खटाइने जानकारी दिए । उनका अनुसार काँग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रिय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो ।
‘केन्द्रिय नेतालाई छिट्टै जिल्ला तोकेर पठाइदैछ,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ ।’
यस्तै नेपाली काँग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली काँग्रेसले जनाएको छ ।
बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो । प्रशिक्षणमा काँग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।
यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन् ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि काँग्रेसले केन्द्रिय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो । काँग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।