नेपालगन्ज २७ साउन : नेपाली काँग्रेस बाँकेले पार्टीका पूर्व क्षेत्रीय सभापति एवम् कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लमाथि हातपात र कालोमोसो दल्ने जस्ता अराजक, अशोभनीय एवम् अमानवीय कार्य भएको भन्दै घोर भत्सर्ना गरेको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले एक प्रेस विज्ञप्ती निकालेर उक्त निन्दनीय घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको भन्दै घटनामा संलग्न ब्यक्तिहरुलाई कडा कारवाहीको माग गरेका छन् ।
घटनाको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयम् सेवक संगठन नेपाल कर्णाली ब्युरोले लिएको बुझिएको भन्दै काँग्रेसले कार्वाहीको माग गरेको हो ।
घटनामा संलग्न ब्यक्तिहरुको खोजी र अनुसन्धानमा प्रशासनले वेवास्ता गरेको भन्दै विज्ञप्तीमा तत्काल कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । सभापति गौडेलले आलटाल गरिए कडा कदम चाल्ने चेतावनी दिएका छन् । मल्लमाथि गत २३ गते दिउँसो पौने २ बजेतिर कार्यकक्षमै आक्रमण एवम् दुर्व्यवहार भएको थियो ।