बाँकेसहित ३ जिल्लाका एसपी सरुवा सकस


बाँकेसहित ३ जिल्लाका एसपी सरुवा सकस

File Photo

नेपालगन्ज २७ साउनः एक वर्ष पुरा भएपछि प्रहरीका सिनियर अधिकृतहरूलाई फरक कार्यालयमा सरुवा गर्ने प्रावधान छ । तर, ३ जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बाँके, सुर्खेत र दाङका प्रहरी उपरीक्षक सरुवा भएका छैनन् । उनीहरुको कार्यावधि १४ महिना भैसकेको छ । २०७९ असार ८ मा ५२ जना एसपीहरुसँगै ती ३ जिल्लामा पनि सरुवा गरिएको थियो ।

सँगै सरुवा भएका सबै प्रहरी उपरीक्षक सरुवा भएपनि प्रहरी प्रधान कार्यालयलाई ३ जिल्लामा एसपी सरुवा ‘सकस’ भएको छ । कार्यकाल पुरा भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका एसपी पनि परिवर्तन गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दाङमा सुरेश काफ्ले, बाँकेमा श्यामकृष्ण अधिकारी र सुर्खेतमा पदम बहादुर विष्ट कार्यरत छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा योगेन्द्र सिंह थापा कार्यरत छन् ।

Kanti Aarogya Hospital Nepalgunj

साउन १३ मा १३ जना एसपीको काज सरुवा हुँदा ४ जना जिल्ला प्रमुख फेरिए । त्यसपछि प्रहरी उपरीक्षकहरूको ठुलो समूह सरुवा गरिएको थियो । तर, दुवै सरुवामा ती चार जिल्लामा प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेन ।

सत्ता गठबन्धनका नेताहरुले आ–आफ्ना अनुकुल एसपी पठाउन दवाव दिएपछि सरुवा ‘सकस’ बनेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उनले भने, ‘नेताहरुको तानातान छ, त्यसैले ३ जिल्ला र लुम्बिनी प्रदेश प्रहरी ट्राफिक कार्यालयमा नयाँ एसपी पठाउन सकिएको छैन ।’

प्रहरी उपरीक्षक सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ । तर, राजनितिक हस्तक्षेपका कारण प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको स्वीकृती बेगर आईजीपीले एसपी सरुवा गर्न सक्दैनन् । जिल्लाका प्रभावशाली नेताहरुले पनि आफ्नो अनुकुल प्रहरी अधिकृत लैजान लविङ गर्ने गरेका छन् । -रातोपाटीबाट