नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान


नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

File Photo

टीकापुर (कैलाली) २९ साउनः कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् ।

स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ । स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् ।

स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नम्बर ८ पूरै डुबानमा पर्ने बताउछन् । बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिए ।

‘गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नम्बर– ८ पूरै डुबान भएको थियो । नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो’, उनले भने,‘यस वर्ष पनि खतरा बढेको छ । त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौँ, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् । नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ । ‘तटबन्ध गरिरहेको ठाउँमा पानी चार मिटरसम्म छ तर तटबन्ध गर्नुपर्ने बाध्यता छ’, उनी भन्छन्,‘नदीमा पानीको वहाव बढे त रोक्न सक्ने अवस्था छैन । अहिले भइरहेको कटान रोक्न हामी सकेको गरिरहेका छौँ ।’

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नम्बर ८ पूरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ । यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नम्बर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउछन् ।

‘म आफैँ पनि तटबन्ध कार्यमा खटिरहेको छु । लामो समयदेखि सिँचाइ आयोजना, प्रदेश र सङ्घीय सरकार गुहारिरहेका छौँ’, उनले भने,‘सिँचाइ आयोजनाले विभिन्न ठाउँमा तटबन्धको कार्य गरिरहेको छ । तर नदीले विभिन्न ठाउँमा भत्काउँदै लगेको छ । नदी बृहत्रूपमा तटबन्ध गरेमात्रै बस्ती जोगाउन सकिन्छ ।’

वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । ‘नदी कटानले विभिन्न बस्ती र सत्ती पुल नै जोखिममा रहेको छ । नदी बस्तीमा पसेमा वडा नम्बर–८ को अस्तित्व नै जोखिममा पर्छ’, वडाध्यक्ष ठकुल्ला भन्छन्, ‘वनगाउँमा नदीले हरेक वर्ष कटान गर्दै आएको छ । नदीले करिब २५ बिघा सत्ती कर्णाली सामुदायिक वनसमेत कटान गरिसकेको छ ।’

टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन् । नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिनेबारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ । -रासस