नेपालगन्ज ३० साउन : संसदीय समितिको कृषि सहकारी प्राकृतिक श्रोत समितिले बाँकेमा विभिन्न सरकारी कार्यालयका प्रमुखसंग छलफल गरेकोछ ।
संसदीय समितिको कृषि सहकारी प्राकृतिक श्रोत समितिका सभापती पूर्ण कुमारी सुवेदीले बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुखसंग सोमबार छलफल गरेकी हुन् ।
बाँके जिल्लामा रहेका वन, कृषी उर्जा तथा सिचाई र भूमि सुधार अन्र्तगतका कार्यालय प्रमुखसंग जिल्ला प्रशासन कार्यालय बाँकेमा उक्त छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसहित समितिको उक्त छलफलमा सिक्टा सिचाई आयोजना, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपालगन्ज औधोगिक क्षेत्र, डिभिजन वन कार्यालय, हुलाकी सडक, खानेपानी, विद्युत तथा सहरी विकास आयोजनाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
संसदीय समितिको कृषि सहकारी प्राकृतिक श्रोत समितिकी सभापती पूर्ण कुमारी सुवेदीले बाँकेमा विकास निर्माणमा के कस्ता समस्या र चुनौती भोग्नु परेकोछ र नीतिगत समस्या र अड्चनका विषयमा जानकारी लिएकी थिइन् ।
उक्त छलफलमा औद्योगिक क्षेत्र आयोजनाका प्रमुख कृष्ण पुनले सुकुम्बासी समस्या समाधान गर्न आवश्यक पहल गर्न आग्रह गरे । यस्तै छलफलमा सडक निर्माणका क्रममा रुखका कारण हुने अप्ठ्यारा, नेपालगन्जले भोग्दै आएको विद्युत समस्या समाधानका लागि नेपालगन्जदेखि भारतको नानपारासम्म विद्युत तार फेर्न अन्तरदेशीय पहल गर्न र विकास निमार्णका क्रममा भोग्दै आएको नीतिगत समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको थियो ।
प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन, सरकारलाई संसदप्रति उत्तरदायी बनाउन, सरकारबाट भए गरेका काम कारवाहीहरुको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि संघीय संसदका ६ वटा समितिहरू रहेकाछन् । जसमा शिक्षा तथा स्वास्थ्य, कृषि सहकारी तथा प्राकृतिक श्रोत, महिला तथा सामाजिक, विकास तथा प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेकाछन् ।