नेपालगन्ज १ भदौ : नेपाल प्रेस युनियनको केन्द्रिय कार्यसमितिमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई बधाई तथा सम्मान गरिएकोछ।
नेपाली काँग्रेस बाँकेले बुधबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पार्टी सभापति नारायणप्रसाद गौडेलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष प्रेम केसी र केन्द्रिय सदस्य शोभा केसीलाई सम्मान गरेका हुन् । केन्द्रिय सदस्य कमला हमाल भने जिल्ला बाहिर रहेका कारण कार्यक्रममा उपस्थित थिइनन् ।
नेपाल प्रेस युनियन बाँकेमा आबद्ध पत्रकार एवम् सञ्चारकर्मीहरुसंग छलफल गर्न आयोजित समन्वयात्मक बैठकमा सभापति गौडेलले उपस्थित सबैलाई मायाको चिनो स्वरुप डायरी र डटपेन प्रदान गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै सभापति गौडेलले बाँकेले पहिलोपटक नेपाल प्रेस युनियनको बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पद पाएकोमा खुसी व्यक्त गर्दै बाँकेबाट निर्वाचित सबैलाई बधाई ज्ञापन गरे ।
उनले प्रेस युनियनसँग समन्वय र सहकार्य गर्दै पार्टी अगाडि बढ्ने भन्दै पार्टीलाई गरिररहेको सहयोगका लागि युनियन सम्बद्ध सबैप्रति आभार प्रकट गरेका थिए ।
स्थानीय चुनावमा सञ्चारकर्मीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका गौडेलले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सक्रिय भूमिकाको अपेक्षा गरे ।
पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका उनले पार्टीभित्र थिति बसाउन र अनुशासन कायम गर्न दृढ रहेको स्पष्ट पारे ।
पार्टीलाई मजबुत बनाउन विचलित नभएर अघि बढ्ने दृढता व्यक्त गर्दै उनले पार्टी पंक्तिमा निराशा छाउन नदिने बताए । गौडेलले स्थानीय चुनावमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा अभूतपूर्व सफलता दिलाउने दिशामा पार्टी सशक्त ढंगले अघि बढ्ने बताए ।
नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले युनियनलाई सशक्त बनाएर लैजान आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जाहेर गरे । उनले पार्टी र युनियन बीचको समन्वय र सहकार्यले सुखद् परिणाम दिने बताउँदै पार्टीले छलफल र अन्तरक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यस्तै युनियनकी केन्द्रिय सदस्य केसीले पार्टीले आफूहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
पार्टी सचिव सुधांशु कोइरालाले सहजीकरण गरेको कार्यक्रममा प्रबक्ता डिल्ली गिरीले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रम र बैठकको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद्हरु श्रीराम सिग्देल, विजय बर्मा, कृष्ण खनाल, राकेश कुमार मिश्र, युनियन सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, कार्यसमिति सदस्य कमल खत्री, प्रियास्मृति ढकाल लगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेणु सिंह ठाकुर र विनोद कुमार थारु लगायत उपस्थित थिए ।