विवादित नागरिकता विधेयक हुबहु पारित

१३५ जनाले गरे पक्षमा मतदान


विवादित नागरिकता विधेयक हुबहु पारित

नेपालगन्ज २ भदौ :विवादित नागरिकता सम्बन्धि विधेयक पारित भएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको हो ।

राष्ट्रपति भण्डारीले विभिन्न नौ बुँदामा पुनर्विचार गर्न प्रतिनिधि सभालाई सन्देश पठाए पनि कुनै संशोधनबिना पारित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संशोधन गर्न माग गरेका थिए भने सत्तापक्षकै केही सांसदले केही बुँदामा फेरबदल गर्नुपर्ने माग गरेका थिए ।

बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए ।

सोक्रममा सांसदहरुको धारणापछि गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

गृहमन्त्रीको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख सापकोटाले जानकारी गराए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएकाले यो विधेयक संसदीय समितिमा लगी वृहत छलफल गर्नुपर्ने माग गरेको थियो ।

अब उक्त विधेयक संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभावाट पारित भएपछि पूनः प्रमाणिकरणका लागि पठाइने छ । यस पटक राष्ट्रपतिले फिर्ता पठाउने पाउने छैनन् ।

बुधबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर हुबहु पारित गर्ने निर्णय गरेको थियो । संसद्को अधिकार संकुचन गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको थियो ।