कृष्ण जन्माष्टमी : कारकाँदोको राधाकृष्ण मन्दिरमा भक्तजनको घुइँचो


कृष्ण जन्माष्टमी : कारकाँदोको राधाकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

नेपालगन्ज ३ भदौ : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा नेपालगन्जको कारकाँदो स्थित राधाकृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिएकाछन् ।

मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । आज बेलुका लाखबत्ती जलाईने र रातभरी भजनकिर्तन गरिनेछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजको दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन छ ।

‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँन्छ । आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

Kanti Aarogya Hospital Nepalgunj

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।