सडक विस्तार योजना अलपत्र : आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का


सडक विस्तार योजना अलपत्र : आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का

नेपालगन्ज ३ भदौ : नेपालगन्ज–कोहलपुर सडक बिस्तार योजना बीचमै अलपत्र पारिएकोछ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त सडक खण्डलाई बिस्तार गर्ने अनेक प्रयास गरेपनि बीचमै अलपत्र पारिएको हो ।

सडक क्षेत्रमा परेका निजी र सरकारी संरचना हटाउन अटेरी गर्दा उक्त योजना अलपत्रमा परेको सडक डिभिजन कार्यालयका कर्मचारी बताउँछन् ।

सडक डिभिजन कार्यालयले स्थानीय तहको निर्वाचन अगाडी यी ठाउँका संरचना हटाउने भरपुर प्रयास गरेपनि घरधनीको अटेरी, राजनीतिक दवाव लगायत कारणले गर्दा बीचमै रोकिन पुगेको थियो । सडक डिभिजनले चार महिनाअघि रोकिएको काम अझैं सुरु गर्न सकेको छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले नेपालगन्ज–कोहलपुर सडक बिस्तार योजना विविध कारणले अगाडी बढाउन नसकिएको बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘अहिलेसम्म साईड क्लियर नै भएको छैन, कतिपय घरधनीको अटेरी, आर्थिक वर्षको समाप्ती, चुनाव र बर्खायामका कारण यो काम बीचमै रोकिन पुगेको हो,’ उनले सेतोखरीसँग भने । उक्त सडक खण्ड १० वर्ष अगाडी पनि स्तरोन्नती गरी चार लेनमा बनाइएको थियो ।

सडकको बीच भागबाट २५/२५ मिटर कायम रहेको उक्त खण्ड अन्र्तगत नेपालगन्जको गणेशमान चोकदेखी कारकाँदोस्थित प्रहरी तालिम केन्द्रसम्म र कोहलपुर बजार क्षेत्रलाई सरकारले तत्कालिन समयमा ‘बिल्डव’(बस्ती) क्षेत्र घोषणा गरेको थियो । अहिले उक्त खण्डलाई पुनः बिस्तार गरेर बस्ती क्षेत्रमै २१/२१ मिटर र अन्य क्षेत्रमा २५/२५ मिटरमा सडक बिस्तार गर्ने योजना रहेको सडक डिभिजन प्रमुख एसीले बताए ।

सडकभित्र परेका भौतिक संरचना नहटाउँदा ठेक्का प्रक्रियामै जान नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । भौतिक संरचना खाली गर्न समय लाग्ने भएकाले सुरुमै ठेक्का प्रक्रियामा जान नसकिएको कर्मचारी बताउँछन् ।

सडक बिस्तारको योजना अगाडी बढाउनका लागि सडक डिभिजन कार्यालयले स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघबीच पहिला सहमती कायम हुनुपर्ने जनाएको छ । स्थानीय चुनाव अगाडी राजनीतिक दलबीच सहमती भएपनि सर्बपक्षिय रुपमा सहमती हुन सकेन ।

सर्बपक्षिय सहमती बिना एक्लो प्रयासले अगाडी बढ्न कठिन हुने सडक डिभिजन कार्यालयले जनाएको छ । आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन अगाडी यो काम गर्न सम्भव पनि नहुने कर्मचारीको बुझाई छ ।

आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का

नेपालगन्ज–कोहलपुर सडक विस्तारको काम अलपत्र परेकै बेला कार्यालयले उक्त खण्डमा आकाशे पुल, सडक स्तरोन्नती र सडक बत्ती जडानको काम गर्ने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयका अनुसार नेपालगन्ज र कोहलपुरमा गरी विभिन्न ५ स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो । नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ ।

करिव १० करोड रुपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए ।

यस्तै नेपालगन्ज–कोहलपुर खण्ड अन्तरगत जमुनाहादेखी राँझासम्म रहेको १०.८ किमी क्षेत्रलाई स्तरोन्नती गर्ने प्रक्रिया अगाडी बढाइएको छ ।

कुल ३३ करोड रुपैयाँको लागतमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नती गर्न लागिएको हो । यसअघि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘डिबिएसटी’ प्रबिधीको कालोपत्रे छोटो समयमै उप्किएपछि सडक डिभिजन कार्यालयले मर्मत कार्य गर्दै आएको थियो ।

कार्यालयले गतवर्षको बजेटबाट राँझादेखी कोहलपुरसम्मको खण्डमा भने डिबिएसटी प्रविधिकै सडक स्तरोन्ती गरिसकेको र यसपटक राँझा–जमुनाहा खण्डमा नयाँ प्रविधिमा सडक स्तरोन्नती गर्न लागिएको कार्यालयका सब–इन्जिनियर राजेन्द्र पाण्डे बताए ।

यसैगरी उक्त खण्डको जमुनाहादेखी मनिकापुरसम्म रहेको १३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ ।

कुल ७ करोड रुपैयाँको लागतमा ठेक्का समेत खोलिसकेको डिभिजन प्रमुख एसपीले प्रष्ट्याए । उक्त खण्डमा यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सोलार बत्ती जडान गरेपनि अधिकांश बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यि तीन वटै योजनाको ठेक्का प्रक्रियाको सबै काम दशैं अगाडीसम्म सम्पन्न हुने र तिहार पछाडी निर्माण कार्य दु्रत गतिमा अगाडी बढाउने सडक डिभिजन कार्यालयको योजना छ ।