नेपालगन्ज ग्यालरी र नेपालगन्ज क्याम्पसबीच सम्झौता, वर्षेनी २ जनालाई छात्रबृत्ति प्रदान गरिने


नेपालगन्ज ग्यालरी र नेपालगन्ज क्याम्पसबीच सम्झौता, वर्षेनी २ जनालाई छात्रबृत्ति प्रदान गरिने

नेपालगन्ज ३ भदौ :सामाजिक सञ्जाल फेसबुकमा चर्चित यस क्षेत्रको ग्रुप ‘नेपालगन्ज ग्यालरी’मार्फत दुई जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिने भएकोछ ।

यस क्षेत्रकै सर्वाधिक चर्चित, अनवरत रुपमा सामाजिक कार्यमा लागि परेको तथा सूचना, जानकारी र मनोरन्जन प्रदान गर्न स्थापित भएको फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले त्रिभुवन विश्व विधालयबाट सम्बन्धन प्राप्त नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (एनसीएमटी), नेपालगन्जसँग सहकार्य गरेर उक्त छात्रबृत्ति प्रदान गर्ने भएको हो । सामाजिक सञ्जालमा खोलिएको ग्रुपबाट यति ठूलो धनराशीको छात्रवृत्ति प्रदान गर्न लागिएको यो कार्य पहिलो पटक हो ।

यस क्षेत्रका जेहेन्दार, गरीब तथा समाबेशी समुहबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरु मध्येबाट बीएससी.सीएसआइटी(ब्याचलर अफ साइन्स इन कम्प्युटर एण्ड टेक्नोलोजी) १ जना र बीसीए(ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) मा १ जना गरि दुई जनालाई उक्त छात्रबृत्ति प्रदान गरिन लागेको नेपालगन्ज ग्यालरीका परिकल्पनाकार तथा संस्थापक समीरमान श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।

‘यो छात्रवृत्ति अब प्रत्येक वर्ष दुईजनालाई प्रदान गरिने सम्झौता भएकोछ’ छात्रवृत्तिका बारेमा जानकारी दिदैँ नेपालगन्ज ग्यालरीका परिकल्पनाकार तथा संस्थापक श्रेष्ठले भने ‘यसका लागि नेपालगन्ज क्याम्पसबाट प्रमुख निशान्त कुमार शाक्यसंग सम्झौता भइसकेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

सम्झौता अनुसार क्याम्पसले बीएससी.सीएसआइटी कोर्ष अध्ययनका लागि ३ लाख ९० हजार र बीसीए कोर्ष अध्ययनका लागि ३ लाख ३० हजारका साथै कलेज पोशाक पनि उपलब्ध गराइनेछ ।

यो छात्रवृत्ति प्रदानका लागि भने नेपालगन्ज ग्यालरीले क्याम्पसको सेवा सुबिधाका बारेमा जानकारी प्रदान गर्दै प्रचारप्रसारमा सहयोग पु¥याउने सहमती भएकोछ ।

नेपालगन्ज ग्यालरी र नेपालगन्ज क्याम्पस छात्रवृति कार्यक्रम – २०७९ को छनोट प्रक्रिया अन्तर्गत् आर्थिक आवस्था कमजोर भएका, जेहेन्दार (एसईई, १०+२ र प्रवेश परीक्षामा ल्याएको अंकको आधारमा), समाबेसी (नेपाल सरकारले निर्धारण गरे अनुसार), एसईई र १०+२ सरकारी स्कूलमा पढेकोलाई प्राथमिकता, त्रिभुवन बिश्वबिद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेको, सम्बन्धित पालिका र वडाबाट निम्न तथा गरीब परिवार भएको भनि प्रमाणित गरेको पत्र लगायतका आवश्यक कागजातहरुमाथि छानविन गरि बाँके र बर्दिया जिल्लाका बिधार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिने योजना रहेकोछ ।

योग्यता पुगेका विधार्थीलाई नेपालगन्जको गणेशमान चोक स्थित क्याम्पसमा पुगी अन्य जानकारी प्राप्त गरी दरखास्त दिन अनुरोध पनि गरिएको नेपालगन्ज ग्यालरीका परिकल्पनाकार तथा संस्थापक श्रेष्ठले जानकारी दिए ।