भूकम्पले बाँके र बर्दियामा क्षति गरेन : प्रहरी


भूकम्पले बाँके र बर्दियामा क्षति गरेन : प्रहरी

नेपालगन्ज ४ भदौः बाँकेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बाँके र बर्दियामा कतै क्षति नगरेको प्रहरीले जनाएकोछ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राती १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बाँकेलाई केन्द्र विन्दु बनाएर गएको ४.८ रेक्टर स्केलको भूकम्पले बाँके र बर्दियामा मानवीय तथा भौतिक क्षति के कति भयो भनेर सेतोखरीले बाँके र बर्दियाका प्रहरीसंग जानकारी लिदाँ भूकम्पले कुनै क्षति नगरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले भूकम्पले क्षति गरेको विवरण शनिबार बेलुकासम्म कतैबाट पनि प्राप्त नभएको जानकारी दिए ।

भूकम्पले कहाँ, के–कति क्षति गर्यो भनेर सर्बसाधारणमा चिन्ता बढिरहेका बेला शनिबार बेलुका बाँके र बर्दिया प्रहरीले यस्तो प्रतिक्रिया दिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

‘भूकम्पको धक्काले कतैपनि मानवीय र भौतिक क्षति नगरेको सूचना छ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवम डिएसपी हिकमत बहादुर बोहराले भने ‘अहिलेसम्म क्षति गरेको भनि हामीलाई कुनै विवरण आएको छैन ।’

भूकम्प गएलगत्तै बाँके र बर्दिया प्रहरीले आफू मातहतका सबै प्रहरी युनिटमा भूकम्पले कहाँ, के–कति क्षति भयो विवरण उपलब्ध गराउन सूचना सर्कुलेट गरेको थियो । प्रहरीका अनुसार शनिबार बेलुकासम्म बाँके र बर्दियामा भूकम्पले मानवीय र भौतिक क्षति नभएको र अहिलेसम्मको अवस्था सामान्य रहेको बताएकोछ ।

भूकम्पको धक्का मध्य रातमा भएकाले अधिकांशले थाहा नपाएको प्रतिक्रिया दिएका थिए । बाँकेको हात्तिसार क्षेत्र केन्द्रविन्दु बनाएर गएको भूकम्पको बारेमा सामाजिक सञ्जालभरी खबर फैलिएपछि अधिकांशले पत्तै नपाएको बताएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो गोरखा भूकम्पको परकम्प नभएको जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।