नेपालगन्ज ११ भदौ : नेपालगन्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ । आजदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साईकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किंग गर्ने कामलाई निरुत्साहित गर्न अब नियमितरुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए ।
आज साँझ फुटपाथ खाली गराउन नगर प्रहरी र ट्राफिक प्रहरीको टोली बजारमा निस्केको थियो । ट्राफिक प्रहरी प्रमुख हिमालय शाह र नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोलीले आज विपी चोकदेखि तरकारी मण्डीसम्मको फुटपाथ खाली गराएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अगाडीको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तर तर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डीसम्मको सडकपेटी खाली गराइएको थियो । त्यस क्रममा बाटोमा जथाभावी पार्किंग गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको छ ।
‘हामीले माइकिंग गरेर सबैलाई जानकारी गराइरहकै छौं, फुटपाथ अतिक्रमण नगर्न भनिरहेका छौं, तर अटेर भइरहेपछि आजदेखि खाली गराउन सुरु गरेका छौं,’ नगर प्रमुख विष्टले भने,‘अब नियमित अनुगमन पनि गर्छौं, छड्के पनि हुन्छ, उपमहानगरपालिकाले यो कार्यलाई सशक्त ढंगले अघि बढाउँछ ।’
सडकपेटी अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको नगर प्रमुख विष्टको भनाई छ । यस विषयमा व्यवसायी एवम् व्यापारीहरुसंग छलफल गरेर थप कार्ययोजना बनाउन भोली विहान ११ बजे नेपालगन्ज उद्योग बाणिज्य संघसंग बैठक बस्न लागिएको पनि नगर प्रमुख विष्टले जानकारी दिए ।