कर्मचारी र भौतिक पूर्वाधारविनै कोहलपुरमा खुले मालपोत र नापी कार्यालय


कर्मचारी र भौतिक पूर्वाधारविनै कोहलपुरमा खुले मालपोत र नापी कार्यालय

कोहलपुर १३ भदौ : कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।

कोहलपुरमा आईतबार भूमि सुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले उक्त दुई वटा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो । नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ ।

उद्घाटन गरिएको मालपोत र नापी कार्यालयका लागि बजेट छुट्याइसकिएको छैन । कर्मचारी दरबन्दी कायम गरिएको छैन । न त भौतिक पूर्वाधार नै राम्रो छ । यतिबेला चुनावलाई लक्षित गरेर कार्यालय उद्घाटन गरिएको राजनीतिक वृत्तमा चर्चा चुलेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शशी श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागि परेको बताइन् ।

यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभइ काम गर्नका लागि उद्घाटन गरिएको बताए ।

सोक्रममा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले हिजो उद्घाटन गरिएको मालपोत र नापी कार्यालय निर्वाचनअघि सुचारु भएको कोहलपुरबासीले हेर्न चाहेको बताएकी थिइन् ।

कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गरे । मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशकले कोहलपुरबाट छिट्टै मालपोत र नापी कार्यालय सञ्चालनमा आउने आश्वासन दिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मालपोत कार्यालय, बाँकेका प्रमुख छविलाल नेपाली, नापी कार्यालय, बाँकेका प्रमुख नापी अधिकृत सहदेव सुवेदीले यथाशिघ्र सञ्चालन हुने मालपोत र नापी कार्यालयबाट यस क्षेत्रका जनताले सुविधा पाउने विश्वास व्यक्त गरे ।