नेपालगन्जको विवादित जग्गा : 'मेरा विरुद्ध अनरगल प्रचारप्रसार गरियो'


नेपालगन्जको विवादित जग्गा : 'मेरा विरुद्ध अनरगल प्रचारप्रसार गरियो'

नेपालगन्ज १३ भदौ : नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डाक्टर धवल शमशेर राणाले गलत मनसाय राखेर करोडौं मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै आफू विरुद्ध अनरगल प्रचारप्रसार गरेको बताएकाछन् ।

सोमबार बेलुका होटल बाटिकामा डाक्टर राणाले पत्रकार सम्मेलन गर्दै केही समाचार र सामाजिक सञ्जालमा विवादित भनिएको जग्गाको विषयमा मेरो नाम जोडेर राजनीतिक हिसाबले चुनावी रुपमा भएको भ्रामक प्रचारको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

नेपालगन्ज त्रिवेणीमोड स्थित न्यूरोडको छेउ लक्ष्मी सिनेमा हल जानेबाटोमा पर्ने करिब एक कठ्ठा सार्वजनिक जग्गा निर्वतमान मेयर राणाले कार्यकाल सकिनुभन्दा ३ महिनाअगाडि व्यक्तिको नाममा गरिदिएको विषयमा कुनै सत्यतथ्य नरहेको भन्दै डाक्टर राणाले उक्त विषयसंग सम्बन्धित सम्पूर्ण कागजात पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

‘भौतिक विकास, सामाजिक एकता र धार्मिक सद्भावपूर्ण नेपालगन्ज निर्माणमा मेरो भूमिकाको बारेमा समस्त नगरबासी जानकार नै हुनुहुन्छ ।’ पत्रकार सम्मेलनमा बोल्दै डाक्टर राणाले भने–‘आरोप लागिसकेपछि आम नागरिकलाई सत्य सुसूचित गर्नु मेरो पदयी दायित्व र कर्तब्य हो । ममाथि लगाइएको आरोप निराधार छ । यसमा नगरबासी दोधारमा नहुनुहोला । यो एउटा चुनावी फण्डामात्र हो ।’

Kids Festival 2022
kanti aarogya hospital

उक्त जग्गाको विषयमा जानकारी दिदैं निर्वतमान मेयर समेत रहेका डाक्टर राणाले भने–‘हकभोगको लागि गरिएको दाबी, तत्कालिन नगर विकासको निर्णय, नापी कार्यालयको फिल्ड उतार, नगरपालिकाको कानूनी शाखा र कानूनी सल्लाहकारको राय, सम्बन्धित वडाले नापीलाई गरेको सिफारिस सहितको कागजातहरु नगरपालिकाको बोर्डमा पेस भइ छलफल पश्चात निर्णय भएको हो ।’

उक्त जग्गा तत्कालिन नेपालगन्ज नगरविकास समितिको भएको हुँदा सो विषयमा नेपालगन्ज नगरपालिकाको कुनै सम्बन्ध नहुने प्रष्ट्याउँदै डाक्टर राणाले भने –‘ब्यक्तिले जग्गा किन्यो, नगरविकासले रोक्का ग¥यो पछि नगरविकासले नै रोक्का फुक्का ग¥यो । यहाँ मेयर(मेरो)को कहाँ दोष छ ।’

‘विषय प्रष्ट छ । चुनावको मुखमा जनतालाई अल्झाउन तुक्ष राजनीतिक गन्ध दिने प्रयास गरियो । यस्ता अदकल्चो निर्णय र कार्य नेतृत्व तहमा बसेर नगरौं । मेरो आग्रह पनि यही नै हो’ डाक्टर राणाले भने ।

यसअघि आईतबार नेपालगन्ज उपमहानगरपालिकामा भएको पत्रकार भेटघाटमा मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले निर्वतमान मेयर डाक्टर राणाले यो जग्गा सार्वजनिक भएको जान्दाजान्दै प्रलोभनमा परेर बोर्डबाटै निर्णय गराएर ब्यक्तिको नाममा गराइदिएको आरोप लगाएका थिए ।

लक्ष्मी चलचित्र मन्दिरदेखि पश्चिमतिर न्यूरोडसँग जोडिएको १ कठ्टा जग्गा गोपालराज शाक्य, घनश्याम बानियाँ, घनश्याम लखेर र सनताम कौरले आफूहरुको भएको दाबी गरेका थिए ।

उनीहरूले दाबी गरेकै भरमा डाक्टर राणा मेयर छँदा उनीहरूबाट जग्गाको कर लिएर प्रमाण पु¥याइ दिन बोर्डबाट निर्णय गराएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्ट र उपमेयर राईको दावि छ ।