नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने


नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज १४ भदौ : धारा नेपालगन्जम्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगन्ज म्याराथन मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्राण्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ ।’ मेयर बिष्टले भने –‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ ।

यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलगअलग सर्टिफिकेट आउने सान्डिवानले बताए । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए ।

एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु पनि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु ।’ मेयर बिष्टले भने–‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’

नेपालगन्ज म्याराथन हरेक वर्ष मंसिर महिनाको पहिलो शनिवार आयोजना हुने गर्दछ । यस वर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थियो । आम निर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन सातापछि सार्दै मंसिर २४ गते शनिवार आयोजना गर्ने तयारी गरेको छ ।

सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहतशान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ ।

यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन साता पछि सारिएको हो । ‘लोकतन्त्रमा आम निर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’

सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।