जानकी ५ मा ‘गाउँपालिका अध्यक्षसँग जनता भेटघाट’ कार्यक्रम सञ्चालन


जानकी ५ मा ‘गाउँपालिका अध्यक्षसँग जनता भेटघाट’ कार्यक्रम सञ्चालन

जानकी(बाँके) १५ भदौ : बाँकेको जानकी गाउँपालिका वडा नम्बर–५ मा ‘गाउँपालिका अध्यक्षसँग जनता भेटघाट’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

वडा नम्बर–५ को कार्यालयमा बुधबार एक समारोहका बीच उक्त कार्यक्रम सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आथित्यतामा भेटघाट कार्यक्रम सुरु गरिएको वडा नम्बर–५ का वडाअध्यक्ष टिकानाथ यादवले जानकारी दिए ।

जनताका समस्या, गुनासो सुन्नका लागि अबदेखी हरेक महिनाको १५ गते र महिनाको अन्तिम दिन गाउँपालिका अध्यक्ष खाँ वडा कार्यालयमै आउने उनले बताए ।

‘आदरणीय गाउँपालिका अध्यक्ष छब्बन खाँ यही वडाको बासिन्दा हुनुहुन्छ, गाउँकै ब्यक्ति गाउँपालिका अध्यक्ष भएको हुँदा यो वडाका जनताको अपेक्षा र आशा धेरै हुनु स्वभाविक पनि हो,’ वडाअध्यक्ष यादवले भने ‘जनताका समस्या र गुनासो सुन्ने र अध्यक्ष ज्युले पनि आफ्ना कुरा जनतालाई सुनाउने भएको हुँदा धेरै कुराको सम्बोधन उहाँले वडा कार्यालयमा आएर गर्नुहुनेछ’ वडा कार्यालयले गाउँपालिका अध्यक्ष खाँको लागि छुट्टै बस्ने ब्यवस्था मिलाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कतिपय जनताका आशा र अपेक्षालाई वडाअध्यक्षले मात्रै सम्बोधन गर्न नसक्ने भएको हुँदा गाउँपालिका अध्यक्षले समाधान गर्न सहज हुने यादवले बताए ।

जानकी गाउँपालिका वडा नम्बर–५ ले सुरु गरेको यस्तो अभ्यास सम्भवतः जिल्लाकै पहिलो र नयाँ कार्यक्रम हो । यसबाट जनताका धेरै भन्दा धेरै समस्या सम्बोधन गर्न सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्षसँग सिधै समस्या र गुनासा राख्न पाउँदा वडा नम्बर –५ का स्थानीय बासिन्दा बुधबार खुसी भएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँसहित जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फेकार सिद्दिकी, वडा नम्बर–५ का वडाअध्यक्ष यादव, वडा नम्बर–६ का वडाअध्यक्ष जगदिश हरिजन, कार्यपालिका सदस्य कान्ति काँदु, वडा सदस्यहरु, स्थानीय बासिन्दा, लगायतको सहभागिता रहेको थियो ।