‘सम्हालिन्छ कहिले मन’ : कारुणिक लभस्टोरी


‘सम्हालिन्छ कहिले मन’ : कारुणिक लभस्टोरी

नेपालगन्ज १७ भदौ : रिलिजपूर्व नै गीत संगीतको माध्यमबाट दर्शकको ध्यान खिच्न सफल चलचित्र हो ‘सम्हालिन्छ कहिले मन’ । जब यस् चलचित्रको ‘जरुरी कुरा छ’ बोलको गीत रिलिज भयो, तब अधिकांश दर्शकको ध्यान गीतको अडियो अनि भिडियो तिर केन्द्रित भयो ।

सुरेश लामा र अञ्जु पन्तको आवाजको रहेको गीतको भिडियोले सबैको ध्यान खिच्यो । ध्यान पनि किन नखिचोस त, भिडियोमा समाबेश दृश्यहरु अति सुन्दर छन् । बेलायतका विभिन्न स्थानमा आकर्षक लोकेशनसहित खिचिएको ‘सम्हालिन्छ कहिले मन’को गीतको भिडियो लोभलाग्दो भएपछि पूरा चलचित्र झन कस्तो होला भन्ने कौतुहलता सबैमा छाएको थियो ।

अन्ततः चलचित्र हिजो शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रमा मुख्यतया तीन कलाकारहरुको भूमिका अलि बढी छ । नायिका पूजा शर्मा(श्रेया), नायक आकाश श्रेष्ठ(सतिश) र नव नायक सोनम तोप्देन (रोहन)लाई बढी देख्न सकिन्छ चलचित्र अवधिभर ।

त्यसो त सोनम चलचित्र क्षेत्रको लागि नयाँ अनुहार हुन् । गायनमा जमिरहेका सोनमले यसै चलचित्र मार्फत डेव्यु गरेका छन् । नायिका पूजा शर्मा चलचित्रमा श्रेयाको भुमिकामा छिन् । उनी सरोज खनाल र गौरी मल्लको छोरी हुन् । सोनम रोहनको भुमिकामा हुन्छन् । आकाश श्रेष्ठ सतिशको भूमिकामा छन् भने धिरेन शाक्य उनका बुवाको भुमिकामा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

झट्ट हेर्दा र सुन्दा कथा पुरानै हो । तर, यो चलचित्रमा भने पृथक तरिकाले प्रस्तुत गरेका छन् निर्देशक सुदर्शन थापाले । त्यसो त, सुदर्शन थापा भन्ने बित्तिकै लभस्टोरी चलचित्र बनाउन अब्बल निर्देशकको रुपमा चिनिन्छन् । यस चलचित्रमा पनि उनले आफ्नो अब्बलता देखाएका छन् ।

चलचित्रको अधिकांश दृश्य बेलायतका विभिन्न स्थानमा खिचिएको छ। त्यस्तो व्यस्त ठाउँमा पनि उचित तरिकाले कथालाई चलचित्रमा सुदर्शनले प्रस्तुत गरेका छन् । यो कुरामा त उनको व्यवस्थापन एवम् निर्देशकीय क्षमतालाई मान्नै पर्छ । आफ्नो निर्देशिकीय करिअरमा सुदर्शनले अर्को मास्टरपिस चलचित्र थपे भन्दा पनि अतियुक्ती नहोला ।

त्यसै पनि विदेशमा चलचित्र छायांकन गर्न गाह्रो छ । तर, विदेशी भुमिसंगै नेपालमा कलाकार परिचालन गरि निर्देशन गरेको यो चलचित्र शितल दिने खालको छ । यो भन्दा अघिका चलचित्र भन्दा झन यस् चलचित्रमा सुदर्शनको काम तारिफयोग्य छ ।

चलचित्र सुरु भएदेखि ब्रेक टाइमसम्म कताकता अलमलिए जस्तो महशुस हुन्छ । अझ भनौं मुख्य स्टोरीमा कतिबेला प्रवेश होला चलचित्र भन्ने भान हुन्छ । तर, ब्रेक सकिन्छ, त्यसपछि भने एकपछि अर्को हुँदै ट्वीस्ट थपिँदै जान्छन् । अनि हेर्ने जोकोही दर्शकको आँखा रसाउँछन् ।

साधारण कथालाई अब्बल तरिकाले लेखनमा उतार्ने लेखक महेश दवाडीको लेखन पनि प्रशंसनीय नै छ । चुलबुले पूजाले चुलबुलेपन र वियोगपनको अभिनय निकै अब्बल तरिकाले निभाएकी छिन् । चलचित्रको दोस्रो भागमा त उनको अभिनय कारुणिक अनि जीवन्त लाग्छ । त्यस्तै, आकाशको अभिनय पनि अब्बल नै छ । उनको अभिनयमा परिपक्वता महशुस हुन्छ ।

अभिनयकै कुरा गर्नुपर्दा सोनमले जीवन्त अभिनय गरेका छन् । सुरुदेखि अन्तिमसम्म उनको हाउभाउ एवम् बोलीको टोनले दर्शकको ध्यान खिच्छ । चलचित्र अवधिभर हेर्ने दर्शकको ध्यान भड्किन नदिने अभिनय सोनमले गरेका छन् भन्दा फरक पर्दैन ।

पहिलोपटक चलचित्रमा अभिनय गरेपनि सोनमको कामलाई प्रशंसा गर्नेको संख्या अबको दिनमा बढ्नेछ । उनका शुभचिन्तक एवम् फ्यानहरुको संख्या बढ्नेछ ।

सिनेम्यानोग्राफर सौरभ लामाले यस्तो मीठो तरिकाले चलचित्र खिचेका छन् कि चलचित्र सुरुदेखि अन्तिमसम्म हेर्दा ‘आहा कस्तो राम्रो सिन, क्या दाम्मी लोकेशन, क्या गजब खिचाई’ जस्ता शब्दहरु हलमा दर्शकको मुखबाट सुन्न पाइन्छ ।

आफ्नो सतप्रतिशत मिहेनत सौरभले छायांकन पक्षमा दिएका छन् । एकदम लोभलाग्दो दृश्य छन् चलचित्रमा । कुनैपनी दृश्य अनावश्यक जस्तो महशुस हुँदैन ।

चलचित्रमा ब्याकराउण्ड म्युजिकले पनि निकै ठूलो भुमिका खेलेको छ । त्यसो त, चलचित्रमा समाबेश गीतहरुले पनि झन् मसला थपेका छन् । एउटा म्युजिकल लभस्टोरी बन्नमा संगीत पक्षले अतुलनीय भुमिका खेलेको छ ।

अन्ततः समग्रमा चलचित्रको मेकिङ निकै उच्च छ । त्यही हो ‘ह्याप्पी इन्डिङ’ हुन्छ कि भन्ने कौतुहलता हुँदाहुँदै अन्त्य चाहिँ ‘स्याड इन्डिङ’ हुन्छ । जुन दृश्यले दर्शकको आँखा रसाउँछन् । प्रेमिल तरिकाले बगेको चलचित्र अन्तिममा कारुणिक वियोगमा परिणत भैदिन्छ । अझ भनौं रोहन (सोनम) र श्रेया (पूजा) दुबैको निधन हुन्छ अन्तिममा । जुन चलचित्रको निकै ठूलो ट्वीस्ट महशुस हुन्छ ।

चलचित्र त्रिकोणात्मक प्रेम कथामा घुमेको छ । अब बाँकी कहानी, ट्वीस्ट र कलाकारहरुको अभिनयको बारेमा थाहा पाउनको लागि त हलसम्म गएर चलचित्र हेर्नैपर्छ ।