एजेण्डा फरक भएपनि केही सिटमा एमालेसँग तालमेल हुन्छ : अध्यक्ष लिङदेन

सांसद हुँ भन्न लाज लाग्यो अनि राजीनामा दिए


एजेण्डा फरक भएपनि केही सिटमा एमालेसँग तालमेल हुन्छ : अध्यक्ष लिङदेन

नेपालगन्ज २० भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा केही ठाँउमा एमालेसँग तालमेल हुने बताएकाछन् ।

पार्टीले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै अध्यक्ष लिङ्देनले देशभरी नै नभई केही ठाँउमा चुनावी तालमेल हुने बताएका हुन् । अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको जानकारी दिदै उनले यस्तो बताए ।

आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै अध्यक्ष लिङ्देनले प्रष्ट्याए । तर, आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडी बढ्न सक्ने बताए ।

‘समाचारको रुपमा सुनाउने गरी ठोस् निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस् आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सुरक्षित नै हुन्छन् भन्ने तपाईले बुझनु भएकै छ ।’

Kids Festival 2022
kanti aarogya hospital

देशलाई माया गर्ने राष्ट्रवादी शक्तीबीच सहकार्य गरेर अगाडी जाने कुरा चलिरहेको बताउँदै भने, ‘एजेण्डामा सम्झौता गर्ने होईन, सिटमा तालमेल मात्रै गर्ने हो ।’ पछिल्लो समयमा मुलुकमा बैदेशिक हस्तक्षेप बढिरहेको अध्यक्ष लिङ्देनले जिकिर गरे ।

अध्यक्ष लिङ्देनले तीन दशकदेखि केही सीमित राजनीतकि दल र सीमित नेताको चक्रब्यूहमा देश फसेको र त्यसबाट देशलाई मुक्त गराउन राप्रपा ठूलो शक्ति हुन जरुरी रहेको बताए ।

‘नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्नुपर्छ, विदेशीले यहाँको प्रधानमन्त्री बनाईदिने परिपाटीको अन्त्य गराउनुपर्छ, त्यसका लागि राप्रपालाई विजयी गराउन जरुरी छ’ अध्यक्ष लिङ्देनले भने ।

अर्को, प्रसंगमा अध्यक्ष लिङ्देनले सांसद हुँ भन्ने लाज लाग्न थालेपछि राजिनामा दिएको प्रष्ट्याए ।

‘मंसिर ४ गतेपछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याईयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यही भएर संसदमा गएर जानकारी गराएर राजिनामा घोषणा गरेको हुँ ।’ अरुले जे गरेपनि आफु यसमा सामेल नहुनका लागि राजिनामा घोषणा गरिएको उनले बताए ।

‘यो अनैतिक मात्र नभएर घोर अनैतिक कार्य हो, राष्ट्रिय प्रजातन्त्र पार्टी यस्ता अनैतिक काममा सामेल हुन सक्दैन,’ उनले भने । अहिले उक्त संसोधन प्रस्तावलाई सरकारले स्थगित गर्ने कुराको सूचना आफुलाई आएको बताए ।
ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफु त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजिनामा घोषणा गरेको बताए ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि संसदलाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफुहरुको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसदको आयु थप्न खोजिएपछि राजिनामा घोषणा गरिएको उनले बताए ।

सांसद पदबाट राजिनामा घोषणा गरेपछिको यो उनको पहिलो पत्रकार सम्मेलन हो । बर्दियामा आयोगित पार्टी कार्यक्रमको शिलसिलामा अध्यक्ष लिङ्देनसहित पार्टीका शीर्ष नेताहरु नेपालगन्ज आईपुगेका हुन् ।