गठबन्धनमाथि प्रश्न : हाम्रा भावना विपरित निर्णय भए परिणाम उल्टाउने चेतावनी

‘डुडुवामा बजेट पास हुन नदिने जसपासँग गठबन्धन सफल हुन्छ ?’ : काँग्रेस सभापति गौडेल


गठबन्धनमाथि प्रश्न : हाम्रा भावना विपरित निर्णय भए परिणाम उल्टाउने चेतावनी

नेपालगन्ज २१ भदौ : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका नाममा बाँके जिल्लालाई ‘सती’ जानु पर्ने अवस्थामा पु¥याइएको भन्दै एक कार्यक्रमका वक्ताहरुले असन्तुष्टि ब्यक्त गरेकाछन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर– २ बाँकेले पार्टी कार्यालय नेपालगन्जमा मंगलबार आयोजना गरेको ‘जनताको साथमा काँग्रेस’ अभियानलाई सम्बोधन गर्ने नेताहरुले यस्तो बताएका हुन् ।

काँग्रेसबाट जनता टाढा भइरहेको अवस्थामा गठबन्धनका नाममा जित्ने ठाउँमा सम्झौता गर्नु परेको भन्दै उनीहरुले बाँके जिल्लालाई ‘सती’ जानु पर्ने र गठबन्धनका पात्रलाई जिताउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको बताएका हुन् ।

‘जनताको साथमा काँग्रेस’ अभियानलाई सम्बोधन गर्नेक्रमा काँग्रेसका नेता तथा नेतृको एउटै भनाई थियो ‘हाम्रा भावनाको विपरित निर्णय हुन्छ भने हामी पनि निर्णय गर्न बाध्य हुन्छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँकेको डुडुवा गाउँपालिकामा एमालेसँग मिलेर जनता समाजवादी पार्टी(जसपा)ले बजेट पास हुन नदिइरहेको अवस्थामा यो ठाउँमा गठबन्धन कसरी सफल हुन्छ ? भनि प्रश्न गरे ।

अभियानलाई सम्बोधन गर्दै गौडेलेले गठबन्धन भएको थुप्रै ठाउँमा बिकृती, बिसंगति रहेको बताउँदै ‘गठबन्धन गर्दै गर्दा गठबन्धन गरेका दलले कत्तिको जिम्मेवारी प्रस्तुत गरेका छन ?’ भनि प्रश्न गरे ।

प्रतिनिधी सभा र प्रदेश सभामा काँग्रेसले सम्मानजनक स्थान पाउने अवस्था नआए जित्न गाह्रो हुने उनले बताए । गौडेलले कुनै क्षेत्रमा काँग्रेसले संघ नपाउने अवस्था आए प्रदेशसभाका दुबै क्षेत्र दिनुपर्ने बताए । उनले भने, ‘अन्यथा हामीले सोचेजस्तो परिणाम आउँदैन ।’

कार्यक्रममा नेपाली काँग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठक, क्षेत्र नम्बर– १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश–२ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य नेतृ उमा थापामगर, महिला संघकी सभापति नारायणी रुपाखेती र तरुण दलका सचिव बिनोद रिजालले गठबन्धनका नाममा जित्ने ठाउँमा सम्झौता गरि अरुलाई बोकेर हिँड्नु परेको बताएका थिए ।

काँग्रेसको विकल्प काँग्रेस नै भएकाले आफ्ना उम्मेदवार नभएपछि रुखमा छाप लगाउन नपाएपछि आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले आफूमा उत्साह नथपेको उनीहरुको जिकिर थियो ।

गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने टिप्पणी गर्दै बाँकेमा काँग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताए । उनीहरुले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भएमा काँग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर–२ (ख ) का सचिव प्रदीप साहले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।