नेपालगन्ज २३ भदौ : नेपालगन्जमा छाडा पशु चौपायको समस्या समाधानका लागि पहल अघि बढाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालिन र अल्पकालिन समाधानका लागि योजना बनाएको छ ।
बैठकको निर्णय अनुसार यहि भदौं महिनाभित्र पशु चौपाय (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रह सहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ ।
भदौ मसान्तपछि पशु चौपाय छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए ।
छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाय आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए । नगर उपप्रमुख कमरुद्दिन राईले छाडा पशु चौपायको ब्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाईका साथ प्रस्तुत हुने बताए ।
नेपालगन्जमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा राखेपनि लिन कोही नआउने काञ्जीहाउसका कर्मचारीको भनाई छ । गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन् । छाडा पशु चौपायहरु काञ्जीहाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने भएको छ ।