कान्तिपुरका कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ
File Photo
काठमाडौं २६ भदौ : निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।
उनले संसदीय समितिमा उपस्थित भएर यस्तो चुनौती दिएका हुन् । उनले केही ठूला पत्रकार, लगानीकर्ता र वकिल नै मुद्दाको दलालीमा सक्रिय रहेको खुलासा गरे ।
‘प्रधानन्यायाधीशको मेरो कार्यकालको अडिट गरियोस् । त्यसअघि र पछि पनि गरियोस् । न्यायालय खरिद बिक्री गर्ने गिरोहलाई भेट नदिएका कारण बृहस्पती एक्लो भयो,’ राणाको भनाई थियो, ‘मुद्दामा चलखेल गर्ने वकिल होइनन् ? म प्रधानन्यायाधीश भएपछि कुन व्यापारीलाई भेटेँ ? कुन कानून व्यवसायी भेटेँ ? अदालतलाई चिढ्याउने र ध्वस्त गर्ने काम नगर्नुस् भनेर पत्रिकाका सम्पादक र मालिकलाई बोलाएर पनि भनेँ । तर, मान्नुभएन ।’
उनले ठूला पत्रकार र लगानीकर्ता नै दलालीमा रहेको खुलासा गरे ।
‘ठूला पत्रकार र लगानीकर्ता दलालीमा सहभागी हुनुहुन्न ? तीनका हकमा सम्पत्ति शुद्धीकरण लाग्दैन ?,’ उनले भने,‘प्रधानन्यायाधीशलाई सम्पत्ति शुद्धीकरण लाग्नुपर्छ भनेर लेख्ने पत्रकार र तिनका साहुजीलाई सम्पत्ति शुद्धीकरण लाग्दैन ? मेरो सबै सम्पत्ति छानबिन होस् । परिवारको सम्पत्ति छानबिन होस् । मैले सम्पत्ति विवरण सार्वजनिक गरेकै छु । फेरि पनि छानबिन होस् । नेपालमा हरेक किसिमका काममा हस्तक्षेप गरेर निर्णय गराउने कान्तिपुर छ । कान्तिपुरका कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ । अरु पत्रकारलाई न्यायाधीश बनाइदिए हुन्छ । वरिष्ठ वकिललाई न्यायाधीश र प्रधानन्यायाधीश बनाइदिए हुन्छ । हामीले पनि हेरौँ न ।’
उनले यो उजुरी नै आफू र आफ्नो परिवारको बदनामका लागि भएको बताए । -बाह्रखरीबाट