नेपालगन्ज ३० भदौ : गत भदौ १२ गते ठूलै तामझामका साथ नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टको नेतृत्वमा शुरु भएको सडक अतिक्रमण हटाउने अभियान सेलाएकोछ ।
त्यसदिनयता उक्त अभियान न त कतै शुरु भएको छ न त अतिक्रमण नै हटाउने काम गरिएकोछ । जनप्रतिनिधीले सस्तो प्रचारका लागि काम गरेको भन्दै यतिबेला चर्को आलोचना भइरहेकोछ ।
व्यवस्थित नेपालगन्जका लागि उपमहानगरपालिकाले दीगो तथा प्रभावकारी योजना विनै सस्तो चर्चा कमाउन कै लागि गरिएको कार्यले निरन्तरता र प्रमाव नहुँदा यतिबेला नेपालगन्ज उपमहानगरपालिकामा अतिक्रमणको समस्या ज्यूँका त्यूँ रहेकोछ ।
उपमहानगरपालिकाको गैरजिम्मेवारीकै कारण यतिबेला नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पुनः फुटपात अतिक्रमण गर्ने क्रम बढेको छ । फुटपात अतिक्रमण बढ्दै जादाँ उपमहानगर क्षेत्रमा ट्राफिक ब्यवस्थापन गर्न समेत समस्या भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा ब्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुल्टेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो ।
ब्यापारीले फुटपातमा अतिक्रमण गरेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । ‘जताततै ब्यापारीले फुटपात अतिक्रमण गरेका छन्, हटाउन खोज्दा उल्टै प्रतिवाद गर्न खोज्छन्,’ उपमहानगरपालिकाका एक कर्मचारीले भने ।
फुटपात अतिक्रमण खाली गराउन उपमहानगरका जनप्रतिनिधी समेत अन्यौलमा परेका छन् । त्यसका लागि सर्बपक्षिय सहमतीको पर्खाइमा जनप्रतिनिधी देखिन्छन् । अतिक्रमणमा परेका फुटपात खाली गराउने उपमहानगरपालिकाको पटक पटकको प्रयास असफल भइरहेको छ ।
यसअघि फुटपात लगायत अतिक्रमित क्षेत्र खाली गराउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफै सडकमा निस्केका थिए ।
फुटपात अतिक्रमण नियन्त्रण, ठेला र अटोरिक्सा ब्यवस्थापनका विषयमा उनले ब्यवसायीका प्रतिनिधी, प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मी लगायत सरोकारवालासँग छलफल तथा परामर्श समेत लिएका थिए ।
लगत्तै सडकमा निस्केका उनले ब्यापारीलाई दुई हात जोड्दै फुटपात खाली गराउन अनुरोध गरे । नगर प्रमुख विष्ट सहित वडा नम्बर–८ का वडाअध्यक्ष रजनीश वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी ओली, जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंह लगायत निस्केका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको फुटपात अतिक्रमण नियन्त्रण अभियान त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुदै करिव दुई सय मिटर पुर्वसम्म पुगेर पुनः फर्केको थियो । सो क्रममा अधिकांश ब्यापारीले फुटपात खाली गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
मेयर विष्ट सहितको टोलीले स्थलगत अनुगमन गरेर फुटपात खाली गराउन अनुरोध गरेको ठाउँ अर्कोदिन पुनः उस्तै अस्तब्यस्त बनेको थियो ।
ब्यापारीले सडक पेटीमै बिक्रीका लागि सामान राखेका छन् । सडक पेटी र फुटपातमा सामान राख्ने ब्यापारीबीच नै प्रतिस्पर्धा भइरहेको छ । यसले गर्दा सवारी आवागमन मै समस्या उत्पन्न भएको छ ।
नेपालगन्जको फुटपातसँगै ठेला, अटोरिक्सा ब्यवस्थापनको कामलाई पनि अगाडी लैजाने उपमहानगरपालिकाको योजना रहेको छ । उपमहानगरका विभिन्न स्थानमा फुटपात लगायत अतिक्रमणमा परेका क्षेत्र खाली गराउनुभन्दा पहिले सार्वजनिक सूचना दिएर फुटपात र अतिक्रमित क्षेत्र खाली गराउने तयारी गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका भइसकेपछि पनि यहाँ ट्राफिक ब्यवस्थापनमा ठूलो समस्या छ । यहाँ अव्यवस्थित अटोरिक्सा, ठेला व्यवसाय तथा मनपरी सडकमा पार्कीङ लगायतको समस्या छ । यी समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिका कडाईका साथ प्रस्तुत हुने अपेक्षा गरेपनि त्यो हुन सकेको छैन ।