‘बाँकेका स्थानीय तहहरुको प्रगति सरदर ७५ प्रतिशत’


‘बाँकेका स्थानीय तहहरुको प्रगति सरदर ७५ प्रतिशत’

नेपालगन्ज ३१ भदौः बाँकेका स्थानीय तह र जिल्ला समन्वय समितिको वार्षिक समिक्षा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक समिक्षा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका ८ मध्ये ७ वटा स्थानीय तहले कार्य प्रगति प्रस्तुत गरेका थिए । डुडुवा गाउँपालिका भने कार्यक्रममा अनुपस्थित भएको थियो ।

उक्त गाउँपालिकाले अझै पनि गाउँसभा गर्न सकेको छैन । एमाले र जनता समाजवादी पार्टी (जसपा)को अवरोधका कारण गाउँसभा हुन नसकेको हो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख चौधरीले केही स्थानीय तहका प्रमुख समेत सहभागी नभएको भन्दै आक्रोश पोखेका थिए । प्रमुख चौधरीले ६ वटा स्थानीय तहहरुको प्रगति सरदर ७५ प्रतिशत रहेको बताउँदै स्थानीय तहलाई शत प्रतिशत विकासको रकम खर्च हुने गरी काम गर्न निर्देशन समेत दिए । स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट नियमित जिल्ला समन्वय समितिमा पठाउन आग्रह गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत शिवप्रसाद रिजालले आफ्नो स्थानीय तहको कार्य प्रगती विवरण प्रस्तुत गरेका थिए ।

कोहलपुर नगरपालिकाका टिकाराम ढकाल, राप्तीसोनारी गाउँपालिकाका हरिबहादुर खत्री, नरैनापुर गाउँपालिकाका मणिराम खराल, जानकी गाउँपालिकाका सिंहराज डाँगी, खजुरा गाउँपालिकाका नृपराज उपाध्याय, बैजनाथ गाउँपालिकाका लेखा अधिकृत पूर्णप्रसाद जैसी लगायतले आ–आफ्नो स्थानीय तहको कार्य प्रगती विवरण प्रस्तुत गरेका थिए ।