एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता


एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता

नेपालगन्ज ३१ भदौ : निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।

आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लख ५४ हजार ८४७ मतदाता बढेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

आयोगका अनुसार सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता रहेको जिल्ला गण्डकी प्रदेशको मनाङ रहेको छ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली शुक्रबार प्रकाशन गर्दै ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेको जनाएको हो भने मनाङमा सवैभन्दा कम ६ हजार ७७९ जना मतदाता रहेका छन् ।

मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।

यस्तै निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन्, भने सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् ।

आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।