राप्ती र बबईले खतरा तह नाघ्यो, सर्तकता अपनाउन आग्रह


राप्ती र बबईले खतरा तह नाघ्यो, सर्तकता अपनाउन आग्रह

File Photo

नेपालगन्ज १ असोज : अविरल वर्षाका कारण राप्ती र बबई नदीले खतरा तह पार गरेको छ, भने कर्णाली नदी चेतावनी तह पार गरेको छ ।

बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६ मिटर पुगेको छ । जबकी नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

शनिबार बिहान सवा ९ बजेतिर २० मिनेटको रेकर्ड अनुसार कुसुममा नदीको सतह ६.१३ मिटर पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

पहाडी जिल्ला रोल्पा, प्युठानमा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

राप्ती तटिय क्षेत्र र डुबान भइरहने होचो भुभागमा बस्ने सर्बसाधारणले सर्तकता अपाउन उनले आग्रह गरेका छन् । कुसुमबाट करिव ५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटीय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।

भारतले अन्तराष्ट्रिय कानून विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने वित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन् । बाढीका कारण हजारौं विघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार बबई चेपाङ जलमापन केन्द्रमा शनिबार विहान १० बजे खतरा तह पार गरेर ७.०६ मिटर जलसतह पुगेको छ । बबईको खतरातह ६.१० मिटर हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बबई नदीमा बाढीले खतराको विन्दु पार गरेसँगै बर्दिया जिल्लामा पर्ने तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बबई तटिय क्षेत्र अन्तगर्त दाङ र बर्दियाको डुवान भईरहने होचा स्थानमा हुनेहरू दिउँसो १ बजेसम्म सतर्क रहन विभागले अनुरोध गरेको छ ।