नेपालगन्जमा ‘हिजोआजका कुरा’


नेपालगन्जमा ‘हिजोआजका कुरा’

नेपालगन्ज ७ असोज : पारिवारिक कथावस्तुमा आधारित फिल्म ‘हिजोआजका कुरा’ले देशव्यापी प्रवर्द्धन अभियान सुरु गरेको छ । सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्त निर्देशित फिल्मका कलाकारले शुक्रबार बिहान नेपालगन्जको भाटभटेनीमा दर्शकसँग साक्षात्कार गर्दै प्रवर्द्धन अभियान थाले ।

यो सोसल ड्रामा तथा कमेडी फिल्म असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ । १२ वर्षसम्म नेपाल टेलिभिजनमा प्रसारण भएको टीभी सिरिज सोही नाममा फिल्ममा आउन लागेको हो । चलचित्रको टिम शुक्रबार नेपालगन्जमा पुगेर पत्रकारसँग भेटघाट गरेको छ । नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा पुगेर हल भिजिट समेत टिमले गरेको थियो ।

पत्रकारसँगको कुराकानीमा चलचित्रका निर्माता तथा कलाकार सन्तोष पन्तले चलचित्र ‘हिजो आजका कुरा’ कहिल्यै पुरानो नहुने चलचित्र भएको बताएका छन् । ‘सदाबहार कथालाई नै चलचित्रमा उठान गरिएको छ’, उनले भने, ‘सबैको जीवनमा मिल्ने कथा दर्शकले चलचित्रमा देख्न पाउनेछन । एकपटक सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।’

‘यसै सन्दर्भमा हामी दर्शकमाझ जान लागेका हौं,’ निर्देशक पन्तले भने । नेपालगन्जपछि पूर्वी सहरहरु धरान, इटहरी र विराटनगरमा समेत प्रवर्द्धन हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

फिल्मका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिव्यदेव, विनय कुइँकेल, अनुष्का अधिकारीसहित निर्देशक पन्तले दर्शकहरुसँग भलाकुसारी गरेका थिए । फिल्म प्रचारमा भाटभटेनीले सहकार्य गरेको छ ।

मोफसलको पहिलो चरणको यात्रापछि दोस्रो चरणमा पोखरा, चितवन, हेटौंडा लगायतका सहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा ट्रेलरबाट समेत दर्शकको ध्यान तान्न सफल फिल्ममा नेपाली समाजको वर्तमान अवस्था, पारिवारिक आरोह–अवरोह, विदेश मोह लगायतका विषय उठान गरिएको छ । फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दीप किस्नाको छ ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की लगायतको अभिनय छ ।

प्रचारप्रसारका लागि चलचित्रकी नायिका ऋचा शर्मा, निर्देशक साकार पन्त, कलाकार रमा थपलिया, दिव्यदेव पन्त लगायतका कलाकारहरु पनि नेपालगन्ज आएका थिए । सबैले चलचित्र राम्रो बनेको धारणा व्यक्त गरेका थिए ।