लखनउमा ब्यापारी हत्या प्रकरणमा नयाँ मोड: पक्राउ परेकी श्रद्धासँग नेपाल सम्बन्ध खोज्दैछ प्रहरी
आराेपी श्रद्धा दुबे र हत्या गरिएका भनिएका उनका प्रेमी ब्यवसायी शिवा शर्मा
नेपालगन्ज। भारतको लखनउमा भएको एक ब्यापारीको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकी श्रद्धा दुबे नेपालमा पनि लुकेर बसेको पाइएको छ। उत्तरप्रदेश प्रहरीले यसको स्वतन्त्र पुष्टी त गरेको छैन तर उनि नेपालगन्ज आसपास वा सिमानाका अरू बजारहरुमा केही दिन बिताएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको छ।
अक्टोबर ९ को मध्यरातमा लखनउस्थित आफ्नै अपार्टमेन्टबाट खसेर मृत्यु भएका भनिएका ३० वर्षीय ब्यापारी शिवा शर्माको मृत्युपछि उनका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले श्रद्धा दुबेनाममा अरेस्ट वारेन्ट निकालेको थियो। प्रहरीको पक्राउपूर्जी जारी भएको थाहा पाएपछि श्रद्धा भने फरार भएकी थिइन्। प्रहरीले उनि अरु दुई दुईजनाको नाममा ५०-५० हजार रुपैयाँ इनामसमेत राखेको थियो।
उनलाई दुई दिनअघि मात्रै महाराष्ट्रको नागपुरबाट प्रहरीले पक्राउ गरेको हो। त्यसपछि उत्तरप्रदेशको लखनउ प्रहरीले उनलाई झिकाएर सोधपुछ गरिरहेको छ।
नेपाल किन जोडियो?
सोधपुछका क्रममा प्रहरीले सोधेका अधिकांश प्रश्नको जवाफ श्रद्धाले दिएकी छैनन्। खासगरी उनले एटिएम वा अरु कुनै पनि बैंकिङ कारोबार नगरी कसरी ठूलो मात्रामा रकम साथमा राखिन् भन्ने प्रश्न प्रहरीले गरिरहेको छ। त्यो रकम उनले नेपालबाट भित्र्याएको वा नेपालमा कुनै न कुनै सम्बन्ध रहेको आशंका प्रहरीले गरेको छ। भारतका विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार प्रहरीले उनि चढ्ने उनकै नाममा दर्ता भएको एउटा स्कर्पियो गाडी रुपैडिहाको एउटा निजी पार्किङमा फेला पारेको थियो। त्यहिँबाट प्रहरीले उनको अन्तिम मोबाइल लोकेशन नेपालकै सिमाना सहरमा रेकर्ड गरेको थियो। त्यसपछि उनको मोबाइल पनि ट्र्याक हुन सकेको थिएन।
अहिले प्रहरीले नेपाल किन गएको? नेपालमा कोसँग कस्तो सम्बन्ध छ भनेर उनिसँग सोधिरहेको छ। तर यी सबै प्रश्नमा उनि मौन छिन्। उनले नेपालबारे सोधिएका हरेक प्रश्नको जवाफमा ‘मसँग होइन मेरो वकिलसँग कुरा गर्नुहोस्’ भन्दै टारिरहेकी छिन्।
अनुसन्धानमा खटिएका एक भारतीय प्रहरीका अनुसार उनले भारतीय सीमावर्ती सहर नेपालगन्ज, दाङ र कृष्णनगरलागतका सहरहरूमा केही दिन बिताएकी हुनसक्छ। प्रहरीले उनि नेपालबाट फेरि लखनउ हुँदै अगरासम्मको एउटा यात्रा विवरण पनि भेटाएको छ। भारतीय प्रहरीले सिमाना सहरमा राखिएका सिसिटिभी फुटेज र सोधपुछका आधारमा उनि नेपाल छिरेको प्रस्ट भएको तर कहाँ कहाँ बसिन् भन्ने कुरा एकीन नभएको जनाएको छ। भारतीय सञ्चारमाध्यम टाइम्म अफ इन्डियाको अनलाईन संस्करणले उनि भारतको बहराईच, रुपैडिहा हुँदै नेपालका सिमाना सहरहरू छिरेको बताएको छ। तर कुन सहर भनेर स्पष्ट लेखेको छैन। लखनउ प्रहरीले यसबारे नेपालका सिमा प्रहरीहरूसँग समन्वय पनि गरेको थियो।
बाँके जिल्ला प्रहरी कार्यलयका एक उच्च अधिकृतले यो ‘क्रस बोर्डर इस्यु’ भएको र अर्को देशमा अनुसन्धान भइरहेको घटना भएका कारण यसबारे बोल्न नमिल्ने जवाफ दिएका छन्।
‘खुला सिमाना छ। यता अपराध गरेर उता (भारत) लुक्न जाने अनि उता अपराध गरेर यता(नेपाल) आउने घटनाहरू भइरहन्छन्। अपराध नियन्त्रणमा खुला सिमाना दुबै देशका लागि साझा चुनौती हुन्’ ती अधिकारीले भने ‘यो अर्को देशको कुरा भएका कारण यसमा धेरै बोल्नु राम्रो हुँदैन। अनुसन्धान भइरहेको होला।’
सिमानाका प्रहरीले आपसी समझदारीमा एकअर्को देशमा प्रक्राउ परेकालाई आदानप्रदान गर्न वा लुकेका अपराधीलाई पक्राउ गर्न सघाउँदै आएका छन्। तर श्रद्धा भने नेपालका विभिन्न सहर हुँदै गोरखपुरबाट फेरि भारत फर्किएको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरीले नागपुरबाट श्रद्धासँगै उनकी बहिनी रश्मी दुबे र उनका सवारी चालक दानिश भनिने तनवीर अलीलाई पक्राउ गरेको हो। नागपुरबाट लखउन प्रहरीले हजरतगन्ज थानमा ७२ घण्टाको ट्रान्जिट रिमान्डमा लिएर उनिहरूसँग सोधपुछ थालेको हो। तर अदालतले केही दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। प्रहरीले उनिहरूसँगै चारवटा मोबाइल फोन र नगद बरामद भएको छ। एटीएमबाट रकम ननिकालेको र डिजिटल भुक्तानीको माध्यमसमेत प्रयोग नगरेको अवस्थामा श्रद्धासँग नगद कहाँबाट आयो भन्नेबारे प्रहरीले प्रश्न गरेको थियो। तर यी सबैजसो प्रश्नको जवाफ उनिहरू तिनैजनाले दिएका छैनन्।
शिवाको मृत्यु भएपछि श्रद्धा कहाँ गइन्, नेपाल कसरी पुगिन् र त्यहाँबाट भारत फर्किने क्रममा कुन बाटो प्रयोग गरिन् भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। भारत-नेपाल सीमावर्ती क्षेत्र बहराइचमा श्रद्धाको कार भेटिएको विवरण सार्वजनिक भएपछि उनको यात्राबारे थप प्रश्न उठेका थिए। प्रहरीले नेपाल जानेदेखि भारत फर्किएर नागपुर पुग्दासम्मको यात्राक्रम स्पष्ट पार्न खोजिरहेको छ। तर, नेपाल किन गएको र फर्किने क्रममा कसले सहयोग गरेको थियो भन्ने प्रश्नमा पनि श्रद्धाले जानकारी नदिएको आजतकले जनाएको छ।

घटना के थियो, श्रद्धा को हुन्?
२८ वर्षीया श्रद्धा दुबे एक सोसल मिडिया कन्टेन्ट क्रियटर हुन्। आफ्ना सामाजिक सञ्जाल (खासगरी इन्स्टाग्राम)हरूमा उनले फेसन, मोडलिङ र जीवनशैलीसम्बन्धि कन्टेन्टहरु राख्छिन्।
एक सरकारी जागिरबाट अवकाश प्राप्त बुवा र आमाहरूसँग उनि उत्तरप्रदेशकै रायबरेली क्षेत्रमा बसोबास गर्थिन्। तर पढाइका सिलसिलामा उनि उत्तरप्रदेशको राजधानी लखनउमा बस्न थालिन्।
त्यही बसाइका क्रममा उनको शिवा शर्मासँग सम्बन्ध भएको थियो। शिवा एक चेन रेस्टुरेन्टका ब्यापारी हुन्। शिवाका परिवारका अनुसार दुई वर्षदेखि उनि श्रद्धासँग ‘लिभिङ टुगेदर’मा थिए। दुबै एउटै अपार्टमेन्टमा बस्थे।
तर गत अक्टोबर ९ को राति चौथो तलास्थित त्यही अपार्टमेन्टबाट खसेर शिवा मृत अवस्थामा फेला परे। हजरतगञ्ज क्षेत्रस्थित बलु अड्डामा रहेको अवध ग्रीन अपार्टमेन्ट हो। त्यो बेला श्रद्धाहरू अपार्टमेन्टमा थिएनन्। सुरुमा यो घटनालाई भवितब्य भनिएको थियो। तर शिवा शर्माकी आमा (रञ्जना शर्मा) लगायत परिवारले यो दुर्घटना नभई हत्या भएको दाबी गरे। उनीहरूले मोडल श्रद्धा दुबे, उनकी बहिनी र अन्य व्यक्तिहरूले शिवालाई ब्ल्याकमेल गरेको, कुटपिट तथा मानसिक–शारीरिक यातना दिएर अपार्टमेन्टको तलाबाट खसालेर हत्या गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले श्रद्धाहरूको खोजी गर्न थालेको थियो।
घटनाको अनुसन्धानका क्रममा शिवाको शव परीक्षण प्रतिवेदनमा शरीरमा ११ वटा बाहिरी चोट रहेको विवरणसमेत प्रहरीले सार्वजनिक भएको थियो।
तर फरार रहेकी श्रद्धाले भने विभिन्न स्थानबाट भिडिओहरू सार्वजनिक गर्दै आफूमाथिको उक्त आरोप अस्वीकार गर्दै आएकी थिइन्। उनले आफू त्यसमा निर्दोष रहेको र शिवा आफैले हाम्फालेर आत्महत्या गरेको दाबी पनि उनको छ। एउटा भिडिओमा उनले शिवा ब्यापारमा लागेको करोडौं ऋणका कारण पहिलादेखि नै मानसिक तनाबमा रहेको र त्यही कारण आफूलाई पनि दबाव दिएको समेत बताएकी छिन्।
अहिले भारतमा निकै चर्चामा रहेको यो मुद्दामा प्रहरीले शवको थप परीक्षणहरू, प्राप्त प्रमाणमाथिको अनुसन्धान र श्रद्धाको फरार यात्राहरूबारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’