नेपालगन्ज ८ असोज : विद्यालयमा अपाङ्गमैत्री वातावरण बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
संस्थागत विकासका लागि योजना तर्जुमा तथा अपाङ्गता समावेसी कार्यक्रमको पुनरावलोकन बैठकमा बोल्ने अधिकांस सहभागिले अपाङ्गमैत्री वातावरण विद्यालय तथा सरकारी कार्यालयहरु सबैमा हुन पर्नेमा जोड दिएका थिए ।
अपाङ्गगता शसक्तिकरण तथा सञ्चार केन्द्र (डेक नेपाल) को आयोजना तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युएसएआइडी, एचआई, विश्व शिक्षाको समन्वयमा भएको कार्यक्रममा सबैका लागि पढाई परियोजनाको चर्चा गरिएको थियो ।
परियोजनाले हालसम्म गरेका कार्य प्रगतिका बारेमा समेत चर्चा गरिएको डेक नेपालका अध्यक्ष हरिकला थापाले जानकारी दिइन ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई परियोजना संचालनको बारेमा जानकारी गराइएको थियो ।
परियोजना संचालन गर्दा विद्यालयहरुमा पुर्व प्रारम्भीक पहिचान गरेर सबै बालबालिकाको अस्पतालमा डाक्टरले स्वास्थ्य परिक्षण गरेपछि प्रमाणितहरुलाई साहायक सामाग्री सहित पढाईमा सहजता ल्याउन सहयोग गरिएको छ ।
पुनरावलोकन बैठकमा बोल्दै नेपालगन्ज उप महानगरपालिकाका उपमेयर कमरुद्दिन राईले नगर क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकाको पढाइमा कुनैपनि अबरोध हुन नदिन उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गरे ।
कार्यक्रममा अपाङ्गता, यसको किसिम, अपाङ्गताका कारण भोग्न परेको समस्या, स्थानीय सरकारको भुमिका, अपाङ्गताको पहिचान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि बनेका ऐन कानूनका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपालगन्ज उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजाल, २३ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगाएतको सहभागिता थियो ।