नेपालगन्ज ८ असोज : नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेपाली जनताले विरोध गरेकै कारण नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टी बाँकेको शनिबार नेपालगन्जमा दोस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधान न्यायाधीश लगायत देशभक्त होइनन्, बरु नेपाललाई सिक्किम जस्तै बनाउन चाहने देश द्रोही हुन्, राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो,’ नेमकिपा सचिव सुवालले भने ‘नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण भएको भए अबको एक/दुई चुनावपछि ट्रम्प र वाइडेनका छोरा छोरी र नाती नातिना नेपालको प्रधानमन्त्री र मन्त्री हुने बाटो खुल्थ्यो र नेपाली उद्योगी व्यापारी नाङ्लो पसलेमा परिणत हुन्थे ।’
अर्को प्रसंगमा उनले निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्ने बताए । पाँच दलिय गठबन्धन सरकारमा बसेर हुने चुनाव निष्पक्ष नहुने जिकिर गरे । सरकारी पदको दुरुपयोग गरी हुने निर्वाचनको निश्पक्षा माथी उनको शंका छ ।
निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउने पार्टीका उम्मेदवारी खारेज हुने व्यवस्था गर्नुपर्ने माग गरे । ‘तीन प्रतिशत मत नआएकालाई राष्ट्रिय पार्टीमा मान्यता नदिने होइन, सरकारमा गएर घोषणापत्र अनुसार काम नगर्ने पार्टीलाई पछिल्ला चुनावमा भाग लिन नपाउने व्यवस्था गरिनुपर्छ,’ सुवालले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य सरोजराज गोसाईले नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको उल्लेख गर्दै पुस्तौंदेखि जमिन जोत्दै आएका किसानलाई जग्गाको स्वामित्व प्रदान गर्दा कृषि उत्पादकत्व बढ्ने बताए ।
केन्द्रिय सदस्य एवम् लुम्विनी प्रदेश समितिका संयोजक हरिसुन्दर बासीले भारतीय विस्तारबादले नेपालको सीमानामा नेपाली भूमि डुवानमा पर्नेगरी एकतर्फी बाँध र तटबन्ध निर्माण गरि नेपाली भूमि अतिक्रमण गरेर तराइका जनतालाई दुःख दिइरहेको चर्चा गर्दै नागरिकता ऐन संशोधन विधेयकले तराईका जनतालाई झन् दुःख हुने बताए । उनले भारतीय मिचाहा प्रवृत्तिको विरोधमा तराइका जनताले संघर्ष गरिरहेको र देशको सीमाना रक्षा गरिरहेको बताए ।
पार्टीका केन्द्रिय सदस्य रविन्द्र ज्याख्वले जनताको आन्दोलनले व्यवस्था परिवर्तन भए पनि शासकहरुको मनोवृत्ति उस्तै हुँदा पूँजीवादी गणतन्त्रमा नेपाली युवाहरु विदेशमा रगत पसिना बगाउन बाध्य भएको र तिनको रेमिट्यान्समा शासक दलहरुले मोजमस्ती गरिरहेको बताए ।
पार्टीका जिल्ला अध्यक्ष बखतबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दिया जिल्ला अध्यक्ष हरिलाल न्यौपाने, सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी शिक्षक संघका दिलबहादुर चौधरी, नेपाल क्रान्तिकारी विद्यार्थी संघका भावना थापा, प्रकाश शाही, नविन शाही लगायतले पनि बोलेका थिए । त्यसअघि पार्टीका कार्यकर्ता र समर्थकको उपस्थितिमा स्थानीय पुष्पलाल चोकबाट ¥याली सुरु भई नेपालगन्ज बजार परिक्रमा गरेको थियो ।