नेपालमा मनसुन पुनः सक्रिय दशैंभरी वर्षा हुने प्रक्षेपण


नेपालमा मनसुन पुनः सक्रिय दशैंभरी वर्षा हुने प्रक्षेपण

नेपालगन्ज ९ असोज : जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दशैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ ।

अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसमविद् राज प्रधानाङ्गले बताए ।

‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दशैंभरी मनसुन रहने स्थिति देखिन्छ’ प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो निरन्तर झरी र वर्षाको सम्भावना कम हुन सक्छ । यद्यपि मनसुन भने कायमै हुने अवस्था छ ।’

सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दशैं हुने भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।

यसैबीच, हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ । राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।