राष्ट्रपतिले गरेको भुल पश्चाताप गरेर पनि सुधार्न सक्नुहुन्नः नेता गौतम

‘अरु कुनै उद्देश्यका लागि जवरालाई महाअभियोग लगाइयो’


राष्ट्रपतिले गरेको भुल पश्चाताप गरेर पनि सुधार्न सक्नुहुन्नः नेता गौतम

नेपालगन्ज ९ असोज : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भुल गरेको बताए । नेपालगन्जमा आईतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभाका सदस्य समेत रहेका नेता गौतमले राष्ट्रपति भण्डारीद्वारा गरिएको उक्त भूललाई उनले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताए ।

‘सर्बोच्च अदातले कारण देखाउ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाउ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो । र, झुक्यो पनि ।’ उनले अगाडी थपे–‘जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भुमिका खेले ।’

‘आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन’–उनले थपे, ‘राष्ट्रपतिले त्यो गर्नै नहुने सोच्नुभयो र गर्नुपर्ने काम गर्नु भएन, आफ्नो कर्तब्य निर्वाह गर्नु भएन ।’ पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको आरोप लगाए ।

‘परम कर्तब्य भनेको त्यो भन्दामाथी अर्को छैन, उहाँले आफै सोच्नुपर्छ, उहाँबाट यस्तो भुल भएको छ, जुन भुल त्यो कुर्सीमा बसेको ब्यक्तिले कहिल्यै गर्नु हुन्नथ्यो तर, उहाँबाट त्यो भूल भईसक्यो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उनले थपे,‘त्यस्तो भुल भइसकेपछि जे गर्नुपर्छ, राष्ट्रपतिले नै गर्नुपर्छ, म उहाँलाई भन्दिन कि तपाईँले यही गर्नुस् भनेर किनकी उहाँलाई थाहा छ कहाँ के गर्नु पर्छ र कसरी आफ्नो भूललाई सुधार्नु पर्छ भन्ने कुरा । यदि उहाँले गर्नु हुन्न भने अझ धेरै भुल गर्दै जानु हुन्छ ।’

एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणीकरण गर्न पठाइसकेपछि प्रमाणीकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए । उनले भने,‘राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो ।’ राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको गौतमको ठहर छ ।

सञ्चारकर्मीसंग कुरा गर्दै नेता गौतमले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवराविरुद्ध महाअभियोग दर्ता गरेर अपराध गरेको बताए ।

‘अहिले महाअभियोग लगाउनेहरुले एउटा ब्यक्तिलाई लगेर बीचमा झुण्ड्याइदिनुभयो, न माथी जान सकेको छ, न तल झर्न सकेको छ,’ उनले भने ‘महाअभियोग संबिधान बमोजिम छ, तर महाअभियोग लाग्नको निम्ति लगाइएको हो र ? यो त अरु कुनै उद्देश्यको निम्ति लगाइएको हो ।’

जतिसुकै पुष्टी भएपनि पक्ष र विपक्षमा मतदान गरेर दुई तिहाई बहुमतले लागेका आरोप पुष्टी नगर्दासम्म महाअभियोग नलाग्ने पुर्वगृहमन्त्री गौतमको जिकिर छ । महाअभियोग नलाग्दै जवरालाई महाअभियोग जस्तै गरेर सिध्याउने कोसिस भएको उनले बताए ।

अर्को प्रसंगमा राष्ट्रिय सभामा आफ्नो स्तरको कुनैपनि नेता नभएको उनले सुनाए । ‘किनकी म राजनीतिक प्राणी हो, मेरो जीवनको सुरुवात राजनीतिबाटै भयो, मेरो उद्देश्य नेकपालाई पुनःस्थापित गर्ने हो, आजसम्म पनि मैले त्यो काम छोडेको छैन,’ गौतमले भने । आफूले लागेपुगेसम्म विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनःब्यूझाउने उनले बताए ।

राष्ट्रिय सभामा बसेर नेकपा ब्यूझाउन नसकेको बताउँदै उनले भने, ‘राष्ट्रिय सभामा त्यो स्तरको माहोल नै छैन, फेरी पनि लाग्ने हो भने एकता गर्न सम्भव छ ।’