यस्तो छ दशैंमा खेलिने लिङ्गे पिङ र चङ्गाको महत्व


यस्तो छ दशैंमा खेलिने लिङ्गे पिङ र चङ्गाको महत्व

नेपालगन्ज १३ असोज : बारीको कान्लामा ढकमक्क सयपत्री फूल फुल्न थालेपछि, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक शुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ ।

दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ मनोरञ्जनका माध्याम हुन् । यद्यपि यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । हाम्रा धार्मिक परम्परासँग जोडिएका कुराहरु आफैमा वैज्ञानिक छन् । पिङ र चङ्गासँग पनि विज्ञान जोडिएको छ ।

जस्तो चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतिक हो, स्वच्छन्दको प्रतिक हो, उचाईको प्रतिक हो ।

भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पीर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्वकांक्षालाई आकाशको उचाईसम्म लिएर जाने चङ्गालाई कतै सगुन र कतै अपसकुनको रुपमा लिने गरिन्छ ।

यसैगरी लिङ्गे पिङ पनि दशैंसँग अभिन्न रुपमा जोडिएको छ । पिङ खासमा मनोरञ्जनकै लागि खेलिन्छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ । दशैंमा रमाउने बाहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो ।

दशैंको बेला हाम्रो खानपान नियन्त्रित हुँदैन । किनभने दशैंको विशेषता नै मीठो मसिनो खाने हो । खसीको पक्कु दशैंको खास परिकार । यसैगरी आगन्तुकलाई ख्वाउन होस् वा आफु पाहुना लाग्दा, मीठोमसिनो खानेकुराको जोरजाम गरिन्छ । अर्थात दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं, त्योपनि मासुजन्य परिकार ।

यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउन पिङ खेल्ने गरिएको कतिपयको तर्क छ । यो तर्क यसकारण सही लाग्छ कि, पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ । दशैंको समयमा त्यती धेरै शारीरिक श्रम नगर्ने भएकाले हाम्रो शरीर यसैपनि शिथिल भइरहेको हुन्छ । त्यसमाथि अत्याधिक खानेकुराको भार त छँदैछ ।

पिङमा मच्चिदा खासगरी पेट खुम्चने र तन्कने गर्छ । यसले पाचन यन्त्रलाई बलियो बनाउन सहयोग गर्छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।

यद्यपि कोरोना र डेंगु संक्रमणका कारण यसपाली जमघट गरेर पिङ खेल्ने वा उन्मुक्त चंगा उडाउने स्थिती त्यती अनुकल छैन । यसरी जमघट गर्दा कोरोना फैलने जोखिम रहन्छ । भने अर्कोतर्फ डेंगु संक्रमणको जोखिम उत्तिकै रहेकोछ । त्यसैले कोरोना भाइरस र डेंगु संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाएर चाडबाड मनाउनुपर्दछ ।