आयोगको निर्देशन आईतबार ५ बजेभित्रै मनोनयन दर्ता गराउ

मंसिर ४ मा पनि सार्वजनिक सवारीसाधन चल्ने, खर्चको सीमा पनि तोकियो


आयोगको निर्देशन आईतबार ५ बजेभित्रै मनोनयन दर्ता गराउ

नेपालगन्ज २२ असोज : निर्वाचन आयोगले मनोनयन दर्ताको समय नसर्ने भन्दै ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै यस्तो आग्रह गरेको हो ।

‘१० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ । समयभन्दा उता आयोगले मनोनयन लिने छैन । राजनीतिक दलहरूलाई पर्ने अप्ठ्यारामा सहजीकरणका निम्ति आयोग तयार छ । तर, मनोनयनको समय र दिन भने सर्दैन,’ शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले भने ।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए ।

निर्वाचन विथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

मतदातालाई धम्क्याउने वा प्रभावित पार्ने जो कोहीलाई पनि आयोगले कानून बमोजिम कारबाही गर्ने उनले बताए । निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन आयोगले दलहरूलाई भनेको छ ।

मंसिर ४ मा पनि सार्वजनिक सवारीसाधन चल्ने

यसैबीच, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन, मंसिर ४ गते सार्वजनिक सवारीसधान आवतजावतमा अवरोध नगर्ने बताएको छ ।

आयोगले गृह मन्त्रालय, यातायात व्यवस्था विभागसँग समन्वय गरेर व्यवस्थित रूपमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिने बताएको हो ।

प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन हो कि नेपाल बन्द हो भन्ने परिस्थिति अब हुँदैन । भद्रगोल रूपमा होइन, व्यवस्थित रूपमा त्यस दिन सार्वजनिक सवारी साधन सञ्चालन हुनेछ ।’

खर्चको सीमा पनि तोकियो

यस्तै, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन् ।

यस्तो छ खर्चको सीमा

निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरिदिएको छ । आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ प्रति उम्मेदवार २५ लाख रुपैयाँ खर्च सीमा तोकेको थियो । यस पटक निर्वाचन क्षेत्र अनुसार फरक फरक छ ।

यसपालि प्रतिनिधि सभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको छ ।

प्रदेश सभा सदस्यतर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख रुपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रुपैयाँ र ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रुपैयाँ खर्चको सीमा तोकिएको छ । २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ तोकिएको छ ।

आयोगका अनुसार निर्वाचन सम्पन्न भएपश्चात् अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र सम्बन्धित उम्मेदवारहरूले आयोगमा खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ ।