यो दशैँमा पनि उडेन गुल्मीबाट विमान


यो दशैँमा पनि उडेन गुल्मीबाट विमान

File Photo

रेसुङ्गा (गुल्मी) २४ असोज : गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैँमा पनि पूरा सकेन ।

विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ ।

स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क छन् । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।

अर्का स्थानीयबासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी छन् । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उनले गुनासो गरे । ‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ’, पुनले भने, ‘अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

उनीहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयबासीहरुको आरोप छ ।

विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गरेका थिए । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात÷आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो ।

रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैँसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आएका छन् । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०÷४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेको थियो ।

अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर गर्यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए ।

इञ्जिनियर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् ।

निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग ५२० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । कूल ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताए । १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनियर परियारको भनाइ छ ।

रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताए । उनले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिए । ‘गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ’, नगरप्रमुख पन्थीले भने, ‘नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।’

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्याउने विश्वास गरिएको छ । -रासस