नेपालगन्ज २८ असोज : निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।
कल सेन्टरबाट सेवा लिनका लागि ११०२ मा कल गर्न सकिनेछ । यसमा फोन गर्दा पैसा लाग्दैन । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।
उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु ।’ कल सेन्टरमा निर्वाचन सम्बन्धी सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।