आम निर्वाचन २०७९

जनताको सेवा गर्न राजनीति गरेको हुँ, दिग्भ्रमित नहुनुस् : राठौर


जनताको सेवा गर्न राजनीति गरेको हुँ, दिग्भ्रमित नहुनुस् : राठौर

नेपालगन्ज २९ असोज : नेपाली काँग्रेसका सह–महामन्त्री एवम बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका उम्मेदवार किशोर सिंह राठौरले देश र जनताको सेवा गर्न आफूले राजनीति गरिरहेको प्रष्ट्याएकाछन् ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सिलसिलामा नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा राठौरले देश र जनताको सेवा गर्न आफु इमानदार भएर राजनीति गरिरहेको बताएका हुन् ।

नेता राठौरले आफूलाई बदनाम गराउने उद्देश्यले आयतित र बाहिरी नेताको रुपमा प्रचार गरिएको भ्रम चिर्दै भने –‘६० वर्षदेखि बाँकेमै घर भएको मान्छे कसरी बाहिरबाट आएको उम्मेदवार भयो ? यो त आम सर्वसाधरणले स्वतः बुझ्ने कुरा हो । म निरन्तर बाँकेमा बसि राजनीति गरिरहेको छु यस्ता दिग्भ्रमित अफवाहको पछि नपर्नुहोस् ।’

‘म सल्यानमा जन्मिएको हुँ, बिद्यार्थी राजनीति काठमाडौंमा गरेको हुँ, सुशील दाई र मेरो बाँके–२ नम्बरमा एउटै क्षेत्र परेको हुनाले बर्दियाको अनकन्टार क्षेत्रमा गएर त्यहाँ पार्टीको राजनीति गरेको हुँ ।’ बाँकेको मान्छे त्यहाँ गएर जिरोबाट राजनीति सुरु गरेको भन्दै विगतलाई उनले स्मरण गरे ।

Kanti Aarogya Hospital Nepalgunj

‘मैले केही पाउनको लागि राजनीति गरेको होईन, मैले देशका लागि राजनीति गरेको हो, समाजका लागि राजनीति गरेको हो, मैले जति सक्छु, जहिलेसम्म सक्छु, राजनीति गर्छु ।’ उनले स्पष्ट पार्दै भने–‘कुनै लोभ, लालच र स्वार्थबीना राजनीतिमा होमिएकाले जनताको कल्याण र उत्थान बाहेक आफ्नो अरु कुनै अभिष्ट छैन ।’

आफुले जिम्मेवार पदमा बसेर काम नगर्ने नेतालाई मात्र गाली गर्ने गरेको बताउँदै नेता राठौरले भने,–‘परिर्वतनको कुरा गर्ने तर आफू परिर्वतन नहुने । काम नगर्ने, चाकडी गर्ने नेतालाई गाली गर्छु । जनताको काम गर्न आएकाले जनताको काम गर्नुप¥यो नी पदमा बसेर जनताको काम गर्न नसक्ने नेतालाई गाली गर्छु ।’

राठौले अगाडी थपे–‘नेतृत्व राम्रो भयो भने समाज र राष्ट्र राम्रो हुन्छ । हामीले राजनीति गर्ने भनेको जनताको सेवा गर्नलाई हो । देशलाई समृद्ध बनाउनको लागि हो । व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नु पर्दैन । त्यसका लागि व्यवसाय गरे हुन्छ ।’

राठौरले सत्तारुढ दलहरुबीचको चुनावी तालमेल ‘नेचुरल’ भएको बताए । नेपालका कथित बुद्धिजिवीले सत्तारुढ दलहरुबीचको चुनावी तालमेलका विरुद्ध अफबाह फैलाएर दिग्भ्रमित गर्न खोजे पनि जनताले प्रष्ट बुझेको उनको तर्क छ ।

नेपालका ९५ प्रतिशत बुद्धिजिवी विकाउ भएको उनको टिप्पणी छ । उनले संसदीय अभ्यास गरिरहेका दलहरुबीच नै संविधान र लोकतन्त्रको रक्षाका खातिर चुनावी तालमेल भएकाले काँग्रेस नेतृत्वको गठबन्धन नेचुरल भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन समेत आह्वान गरे ।

नेपाली काँग्रेस मुलुकलाई सही मार्गमा डोर्याउने पार्टी भएकाले जनताले काँग्रेस नेतृत्वको गठबन्धनलाई यसपटक जिताउनैपर्ने उनले बताए । ‘काँग्रेसले हार्यो भने के हुन्छ तपाईहरुले देख्नु भएको छ, विगतमा हामीले हेरिसकेका छौं, काँग्रेसले संविधान जारी गरेको हो,’ नेता राठौरले भने ‘संविधान कार्यान्वयन गर्ने जिम्मा पनि जनताले काँग्रेसलाई दिनुपर्नेमा त्यो नदिदाँ केपी शर्मा ओलीले असंबैधानिक कदम चालेर दुई पटक संसद विघटन गरेको कुरा जनतालाई राम्ररी थाहा छ ।’

आफुले अब बाँकेको क्षेत्र नम्बर ३ र समग्र बाँके जिल्लाको विकासका निम्ति काम गर्ने बताए । कुनैपनि पार्टीका केन्द्रिय स्तरका नेताहरु जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै उनले आफु बाँकेबासी भएर बाँके जिल्लामै चुनाव लड्न लागेकाले यसमा कोही भ्रमित हुन नपर्ने बताए ।

राठौर आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनमा संचार माध्यमले सहि सूचना सम्पे्रषण गरेर जनतालाई योग्य उम्मेदवार छनोट गर्न सघाउनु पर्ने सह–महामन्त्री राठौरले बताए ।

उनले प्रेस सबैभन्दा सचेत वर्ग भएको बताउँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउने महत्वपूर्ण भुमिका प्रेसको हुने बताए ।

नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओलीको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्य, युनियन पूर्व केन्द्रिय सदस्य एव निर्वतमान नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर, युनियन बाँकेका पूर्व अध्यक्ष नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, कमल खत्री, नविन गिरी र बसन्त उपाध्याय लगायतले निर्वाचनमा पेशागत आचारसंहिता पालना गर्दै काँग्रेससहित सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन युनियन सम्बद्ध पत्रकारले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने धारणा राखेका युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।