शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि


शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि

नेपालगन्ज ३१ असोजः नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६।०८ प्रतिशत पुगेको छ ।

जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए ।

२०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो ।

संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट)को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो ।

नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकता ः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ ।